राष्ट्रपति चुनावका लागि आज मतदाता नामावली प्रकाशन : शीर्ष नेताहरुको दौडधुप

काठमाण्डाै – राष्ट्रपति चुनावका लागि निर्वाचन आयोगले आज मतदाता नामावली प्रकाशन गर्दैछ । नयाँ बानेश्वरमा रहेको संसद भवन परिसरमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयले आज मतदाता नामावली प्रकाशन गर्नेछ । आयोगले संघीय संसद र प्रदेश सभा सचिवालयबाट कायम रहेका सदस्यको सूची मागेर मतदाता नामावली तयार पारेको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिनुभयो ।

नामावली प्रकाशनपछि दाबी विरोध गर्ने तथा नाम सच्च्याउन दुई दिनको समय दिइनेछ । आउँदो २५ गते राष्ट्रपति चयनका लागि मतदान हुँदैछ । मतदानका लागि आउँदो १३ गते शनिबार मनोनयन दर्ता हुनेछ । राष्ट्रपतिको चुनावमा सङ्घीय संसद्को दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधि सभा  सदस्य तथा सात वटै प्रदेशका प्रदेश सभा सदस्य मतदाता हुने कानुनी व्यवस्था छ ।

संघीय संसद अन्तर्गत प्रतिनिधिसभामा २ सय ७५ र राष्ट्रिय सभामा ५९ तथा प्रदेश सभामा ५ सय ५० मतदाता छन् । आयोगले २०६८ को जनगणनाकै मतभारका आधारमा राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव गर्ने निर्णय गरेको छ । सङ्घीय संसद्का सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ हुनेछ । उपराष्ट्रपतिका लागि चैत ३ गते चुनाव हुने तालिका छ ।

राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गर्न तीन दिनमात्रै बाँकी रहँदा शीर्ष नेताहरुको दौडधुप भने बढेको छ । संसद्को ठूलो दल नेपाली कांग्रेस, दोस्रो दल नेकपा एमालेसहित एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्न सक्ने गरी चर्चा र छलफल अगाडि बढेको छ । सत्ताको नेतृत्व गरिरहेको माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएको छ । कांग्रेस भने विगतको पाँच दलीय गठबन्धन ब्युँताएर राष्ट्रपति आफूले लिन प्रयासरत छ ।

एमालेले राष्ट्रपतिका विषयमा आधिकारिक उम्मेदवार अघि सारेको छैन । गएको पुस १० गते एमाले र माओवादी केन्द्रका शीर्ष नेताबीच भएको भद्र सहमतिमा प्रधानमन्त्री माओवादी केन्द्रलाई र राष्ट्रपति एमालेलाई दिने समझदारी भएको एमाले नेताहरुको दाबी छ । एमालेलाई सभामुख पद दिइसकेका कारण शक्ति सन्तुलनका हिसाबले पनि अब राष्ट्रपतिमा एमालेबाहेकको शक्तिलाई महत्त्व दिनुपर्ने पक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड देखिनुभएको छ ।

एमालेकै नेता राष्ट्रपति हुने अवस्था नदेखेपछि अध्यक्ष केपी शर्मा ओलीले विभिन्न विकल्पमा छलफललाई अगाडि बढाउनुभएको छ । उहाँले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर राष्ट्रपतिमा प्रस्ताव गर्नुभएको छ । त्यस्तै लोसपाका अध्यक्ष महन्थ ठाकुरले पनि दाबेदारीसहित छलफल थाल्नुभएको छ ।

भावी राष्ट्रपति कसलाई बनाउने भन्नेमा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड निर्णायक अवस्थामा हुनुहुन्छ । यसैले, कांग्रेस, एमालेलगायतका दलले राष्ट्रपतिमा सहयोग गर्न प्रचण्डलाई आग्रह गर्दै आएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको दोस्रो कार्यकाल आउँदो २८ गते सकिँदैछ ।

Back to top button