जलजला गाउँपालिकाले निशुल्क लोकसेवा तयारी कक्षा संचालन गर्दै

पर्वत। पर्वतको जलजला गाउँपालिकाले निशुल्क लोक सेवा आयोगको तयारी कक्षा संचालन गर्ने भएको छ । गाउँपालिका भित्रका नागरिकहरुको लोक सेवा तथा सरकारी सेवा प्रतिको आकर्षणलाई मध्यनजर गदै लोक सेवा आयोगको तयारी कक्षा संचालन गर्न लागेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कुशल सुवेदीले जानकारी दिए । उनका अनुसार निजामती सेवामा प्रवेश गर्ने चाहना भएर पनि आर्थिक अभावले पढ्न नसकेका गरिब, दलित, द्वन्द्वपीडित, आदिवासी, जनजाति लगायतका लक्षित वर्गलाई माथि उठाउन पालिकाले लोकसेवा तयारी कक्षा पढाउन थालेको हो ।

लोक सेवाको तयारी गर्ने उम्मेद्धार जलजला गाउँपालिकाको स्थायी वा अस्थायी बासिन्दा हुनुपर्ने, कम्तिमा १२ अथवा एस. ई. ई. उतिर्ण गरेको र उमेर १८ बर्ष पुरा भई ४० बर्ष ननाघेको, नेपाली नागरिकताको प्रमाणपत्र पेश गर्नुपर्ने, न्युनतम शैक्षिक योग्यताको प्रमाणपत्र अनिवार्य र हालसालै खिचेका दुई वटा फोटा पेश गर्नुपर्ने छ ।

आवेदकहरुको छनोट गर्दा आवश्यक संख्या भन्दा बढी आवेदन पर्न आएमा लोक सेवा आयोगले खरिदार पदका लागि स्वीकृत पठयक्रम बमोजिम ५० पुर्णाङ्कको २५ वटा बहुवैकल्पिक प्रश्नको माध्यमबाट परीक्षा लिई सबैभन्दा उच्चतम अंक प्राप्त गर्नेलाई छनोट गरिने छ । लोक सेवा पढ्न इच्छुक व्यक्तिले माघ २५ गतेसम्म आवेदन पेश गर्नुपर्नेछ ।

गाउँपालिकाका अनुसार लोक सेवाको तयारी कक्षाको अवधि तोकिसकेको छैन । पालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवेदीका अनुसार गाउँपालिकाले आवेदक संख्या हेरेर लोक सेवा तयारी कक्षाको समय अवधि तय गर्नेछ ।
गाउँपालिकाले आर्थिक बर्ष २०७९/८० को बार्षिक स्विकृत कार्यक्रम अनुसार निशुल्क रुपमा लोक सेवा आयोगको पुर्व तयारी कक्षा संचालन गरेको हो ।

Back to top button