पोखरा-बाग्लुङ राजमार्गमा गाडी बन्द गरेर काम गरिने

कास्की – पोखरा—बाग्लुङ राजमार्गमा यातायात बन्द गरेर सडक स्तरोन्नतिको काम गरिने भएको छ । पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजनाले सडक खण्ड फराकिलो बनाउने कार्य सुरु गरेसँगै कामलाई तीव्रता दिन गाडी नै बन्द गरेर काम गर्न लागेको हो ।

पोखरा—बाग्लुङ राजमार्गअन्तर्गत अहिले पोखराको हरिचोकदेखि याम्दीपुलसम्मको सडक स्तरोन्नतिको काम भइरहेको हो । यो खण्डको निर्माणका लागि मोतिदान कन्स्ट्रक्सन प्रालिसँग ठेक्का सम्झौता गरिएको छ । आयोजनाका अनुसार हरेक दिन बिहान ११ देखि तीन बजेसम्म र राति ९ बजेदेखि बिहान १ बजेसम्म गाडी रोकेर काम गरिने भएको छ ।

रोकिएका गाडीलाई आधा घण्टाको फरकमा सञ्चालन गरिनेछ । चौवारीबाट ५० मिटर अगाडि हेम्जातर्फ भिरको उचाइ धेरै भएकाले भिर कटान कार्य भइरहेकाले सडक सुरक्षालाई ध्यानमा राखेर यातायात सञ्चालनमा रोक लगाइएको र आधा–आधा घण्टामा छुटाउने व्यवस्था मिलाइएको मध्यपहाडी राजमार्ग योजना कार्यालयका प्रमुख नारायणदत्त भण्डारीले बताउनुभयो ।

सकेसम्म वैकल्पिक बाटो प्रयोग गर्न पनि उहाँको आग्रह छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले रोकिने गाडी छुटेपछि आफ्नो लेन अनुशासन पालना गर्न र ओभरटेक नगर्न आग्रह गरेको छ । जौवारीतर्फबाट जाने गाडीलाई सिमपानीचोक–बगर–शिक्षा कार्यालय–केआइसिँह पुल–दीप हाउजिङ हुँदै नयाँपुल र हलुका गाडीलाई बिन्ध्यवासिनीचोक–सराङकोट–कास्कीकोट हुँदै नौडाँडाको बाटो प्रयोग गर्ने व्यवस्था गरिएको छ । यसैगरी हेम्जातर्फबाट आउने गाडीलाई जौवारीपुल–दीप हुँदै सिमपानी र दोस्रो विकल्पमा नौँडाँडा–कास्कीकोट–सराङकोट हुँदै बिन्ध्यवासिनीचोकको सडक प्रयोग गर्न ट्राफिक प्रहरी कार्यालयले आग्रह गरेको छ ।

Back to top button