पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ठेक्काबिनै पार्किङमा अचाक्ली असुली

पोखरा । भैरहवा जान लागेका आफ्ना साथीलाई छोड्न पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परिसर पुगेका हरि बास्कोटाले सवारी साधन रोकेकै थिएनन् । साथीलाई टर्मिनल छेउमा ओरालेर फर्किंदै थिए ।

तर, केही युवाले उनको सवारी रोक्दै पार्किङ वापतको ३० रुपैयाँको चिट थमाए । ‘त्यो चिट मैले नलिई आएको छु । यो ठीक भएन, तिम्रो पार्किङमा मैले रोकेको छैन । सरासर हिँड्दा किन पैसा तिर्ने ? भन्दा यहाँभित्र पसेपछि पैसा तिर्नुपर्छ भन्छन्,’ महंगो पार्किङ शुल्कको विरोधमा पर्यटन व्यवसायी गणेश थापाले लेखेको स्टाटसमा बास्कोटाले प्रतिक्रिया लेखेका छन् ।

व्यवसायी थापाले ३० मिनेट भन्दा कम समय सवारी साधन राख्दा पार्किङको पैसा लिन नपाइने बताएक छन् । ‘काम विशेषले छोटो समय एयरपोर्ट प्रवेश गर्न साथ पार्किङ शुल्क लिनु वैज्ञानिक हुँदैन,’ उनले भनेका छन्, ‘एयरपोर्टमा ३० मिनेटभन्दा कम समय खर्चेर वा कुरेर आगन्तुकलाई छोड्नु वा ल्याउनु पार्किङ हैन ।’

अंग्रेजी नयाँ वर्ष अर्थात् पुस १७ देखि सञ्चालनमा आएको अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा पार्किङ शुल्क अचाक्ली महंगो भएपछि अहिले यात्रु तथा सरोकारवालाले सर्वत्र विरोध जनाएका छन् । पुरानो एअरपोर्टमा दुई पांग्रे सवारी साधनको १० रुपैयाँ पार्किङ शुल्क तिर्दै आएका सेवाग्राहीले एक्कासी प्रतिघन्टा ३० रुपैयाँ तिर्नुपरेपछि आक्रोशित छन् ।

अन्तर्राष्ट्रियस्तरको विमानस्थल भएपनि हालसम्म आन्तरिक उडानमात्रै यहाँबाट उडान भइरहेको छ । नाममात्रैको अन्तर्राष्ट्रिय विमानस्थल बनाएर चर्को कर तथा शुल्क उठाउन थालेपछि आक्रोशित बनेका सेवाग्राहीको प्रश्न छ, ‘यही पार्किङबाट उठेको रकमले एअरपोर्टको ऋण तिर्ने योजना हो ?’

पटके पार्किङ शुल्क लाग्ने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ गर्ने सेवाग्राहीले पुरानो विमानस्थलमा तेब्बर बढी पार्किङ शुल्क तिर्न बाध्य छन् । विमानस्थलमा पार्किङ गरेवापत मोटरसाइकल, स्कुटर, रिक्सा प्रतिघन्टा ३०, प्रतिदिन १८० रुपैयाँ तिर्नुपर्छ । त्यस्तै, कार, जिप, टेम्पो आदि पार्किङ गरेको प्रति घन्टा ६०, प्रतिदिन ३ सय ६० रुपैयाँ तिर्नुपर्नेछ ।

त्यस्तै, हल्का सवारीसाधन मिनी बस, माइक्रो आदि प्रति घन्टा ८० र प्रति दिन ४ सय ८० रुपैयाँ तिर्नुपर्ने उल्लेख छ । गह्रौं सवारी साधनजस्तै बस, ट्रक १२० र प्रतिदिन ७ सय २० रुपैयाँ तिर्नुपर्छ ।

विमानस्थलमा प्रवेश गरेको पनि महंगो पटके पार्किङ शुल्क बुझाउनु परेपछि ट्याक्सी धनीलेसमेत भाडा बढाएका छन् । यात्रु लिएर विमानस्थल प्रवेश गर्दा नै ६० रुपैयाँ बुझाउनुपरेपछि सोहीअनुसार भाडा वृद्धि गर्नु आफूहरुको बाध्यता रहेको ट्याक्सी चालक तर्क गर्छन् ।

ठेकेदारलाई बिना ठेक्का शुल्क अनुमति

पुस मध्यबाट सञ्चालनमा आएको विमानस्थलमा मनोज निर्माण सेवा पार्किङ शुल्क उठाइरहेको छ । तर, उक्त ठेकेदार कम्पनीलाई भने ठेक्का प्रक्रियाबिनै महंगो पार्किङ शुल्क उठाउन अनुमति दिइएको खुलेको छ ।

यो कम्पनीले पुरानो पोखरा विमानस्थलमा पार्किङ शुल्क उठाउँदै आएको थियो । त्यहाँबाट आन्तरिक उडान नयाँ विमानस्थलमा सरेसँगै बिना ठेक्का प्रक्रिया नै मनोज निर्माण सेवा पनि पार्किङ शुल्क उठाउन यहीँ आइपुगेको हो ।

पुरानो पोखरा विमानस्थलमा अघिल्लो आर्थिक वर्षसम्म माछापुच्छ्रे निर्माण सेवाले मासिक ३५ हजार रुपैयाँ तिर्ने गरी सवारी शुल्कको ठेक्का लिएको थियो । माछापुच्छ्रेले  पोखरा विमानस्थलसँग एक वर्षका लागि पार्किङ शुल्क उठाउने जिम्मा पाएको थियो ।

‘त्योभन्दा पहिले ३ वर्षको सम्झौता हुन्थ्यो । तर, नयाँ एअरपोर्ट सञ्चालनमा आउने भएपछि एक वर्षकोमात्रै सम्झौता गर्‍यौं । त्यही पनि सञ्चालन अनिश्चित हुँदा फेरि ३ महिना थपेर आर्थिक वर्ष सकिने गरी असार मसान्तसम्म माछापुच्छ्रेलाई नै दियौं,’ विमानस्थलका राजश्व अधिकृत देजराज सुवेदीले भने, ‘माथिबाटै स्वीकृति लिएर थपिएको हो ।’

माछापुच्छ्रेको थपिएको समय सकिँदासम्म नयाँ विमानस्थल सञ्चालनमा नआएपछि साउनमा एक वर्षका लागि मनोज निर्माण सेवासँग सम्झौता गरिएको राजश्व अधिकृत सुवेदीले जानकारी दिए । त्यही ठेकेदार कम्पनीले अहिले नयाँ विमानस्थलमा पुरानो विमानस्थलमा भन्दा तेब्बर दरमा पार्किङ शुल्क असुलिरहेको हो ।

 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख विक्रम गौतमले नयाँ कम्पनी नआउँदासम्मका लागि विमानस्थलको पार्किङ व्यवस्थित गर्नका लागि अल्पकालीन रुपमा मात्रै मनोज निर्माण सेवालाई जिम्मा दिएको प्रष्टिकरण दिए । उनले ठेक्का प्रक्रियाबाट नयाँ कम्पनी नआउँदासम्म मनोजले नै पार्किङ शुल्क उठाउने बताए ।

‘मनोज निर्माण सेवासँगको सम्झौता सकिएको छैन । त्यसैले अहिलेलाई अल्पकालीन रुपमा उसैले पार्किङ शुल्क उठाउने सहमति हो’, गौतमले अनलाइनखबरसँग भने, ‘नयाँ ठेक्का आह्वान गरिसकेका छौं । त्यहाँबाट नयाँ कम्पनी आएपछि उहाँहरुले स्वतः छोड्नुहुन्छ ।’

बल्ल नयाँ ठेक्का आह्वान

पुरानै ठेकेदार कम्पनीलाई शुल्क उठाउन दिएको र महंगो शुल्क उठाएकामा प्रश्न उठ्न थालेपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ड्यन कार्यालयले बल्ल नयाँ ठेक्का आह्वान गरेको छ ।

आइतबारको गोरखापत्रमा प्रकाशित बोलपत्र सूचनामा ५ वर्षका लागि ठेक्का आह्वान गरिएको छ । सूचनामा ५ वर्षका लागि १ करोड ६२ लाख ३३ हजार रुपैयाँ न्यूनतम बोलकबोल रकम तोकिएको छ । बहाल रकममा हरेक २ वर्षमा १० प्रतिशतले वृद्धि हुनेसमेत सूचनामा उल्लेख छ ।

विमानस्थलका राजश्व अधिकृत देवराज सुवेदीका अनुसार पुरानो एअरपोर्टको पार्किङ शुल्कबाट मासिक ३५ हजार रुपैयाँ आम्दानी हुन्थ्यो । उक्त हिसाब गर्दा ५ वर्षमा विमानस्थलले २१ लाख रुपैयाँ प्राप्त गर्थ्यो ।

तर, नयाँ विमानस्थलबाट मासिक २ लाख ७० हजार रुपैयाँ पार्किङवापत आम्दानी गर्ने सुवेदीले जानकारी दिए । ‘पहिले र अहिले ठाउँ पनि फरक हो । ठूलो ठाउँमा एरिया र रेभेन्यू फरक हुने नै भयो’, उनले भने, ‘यो रकम पनि एउटा समिति गठन गरेर त्यसले दिएको प्रतिवेदनमा आधारित रहेर तोकिएको हो ।’

नयाँ विमानस्थलमा बोलकबोल रकम धेरै र ठाउँ पनि त्यहीअनुसार ठूलो भएकाले पार्किङ शुल्क महंगो पर्न जाने विमास्थलको भनाइ छ । ‘इन्जिनियरिङ कमिटीले दिएको सुझावलाई नै एरियाअनुसार न्यूनतम बोलकबोल तोकिएको छ, कम्पनीलाई धेरै ठाउँमा धेरै रकम उठाउनुपर्ने भएकोले पनि पार्किङ शुल्क महंगो पर्न जाने हो’, विमानस्थल प्रमुख गौतमले भने ।

Back to top button