आत्मनिर्भरता बढाउन आलुको मूल बिउ उत्पादन

पर्वत : जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्य खेत खन्न व्यस्त छन्। उनीसँगै अन्य कृषक पनि कोहीले मलखादको मल तयार पार्ने त कोहीले आलुका दाना तयार पारिरहेका छन्।

अध्यक्ष आचार्य र अन्य कृषक जस्तै जलजला अरू धेरै कृषक आलुको बिउ तयार गर्न खेतमा खटिरहेका छन्। सामान्य रूपमा तयार पारिएको र जातको यकिन नभएको आलुको बीउले बजार लिन नसक्ने र त्यसले कृषकलाई आत्मनिर्भर नबनाउने भएकाले जलजलामा आलुको मूल बीउ विकास गर्न लागिएको हो।

गाउँपालिकाको वडा नं. ६ शालिजाका बराह, चिहानकाटे, लाम्पाटा र रात्माटामा आलुको बिउ उत्पादन गर्न थालिएको छ। आलुको मूल बिउ विकास कार्यक्रम’ सुरु भएपछि त्यस क्षेत्रका कृषकहरू अहिले मूल बिउ उत्पादन गर्ने गरी खेतमा व्यस्त छन्।

‘पर्वतको उत्तरी क्षेत्र आलुको बिउका लागि पर्वत सहित आसपासका जिल्लामा पनि प्रख्यात छ। शालिजा, बनौँ, क्याङ, लेस्पार लगायतका ठाउँको आलुको बिउ भनेपछि जता पनि बिक्री हुने गरेको छ’, आचार्य भन्छन्, ‘विभिन्न जात मिसिएर बनेको तथा जात नै नखुलेका जातका बीउले राम्रो नहुन सक्छ। त्यसले कृषकलाई आत्मनिर्भर बनाउँदैन। व्यावसायिक रूपमा आलु र बिउ उत्पादन गर्नका लागि मूल बिउ उत्पादन गर्न थालिएको हो।’

यो वर्ष नौ रोपनी क्षेत्रफलमा ५३ हजार २०० आलुका दाना रोपिँदै छ। उक्त बिउ नेपाल कृषि अनुसन्धान परिषद्को सिफारिसमा आठ लाख २० हजार रुपैयाँमा खरिद गरिएको हो। गाउँपालिकाले राष्ट्रिय आलु बाली अनुसन्धान केन्द्रसँग समन्वयमा कार्यक्रम सुरु गरेको हो। आलुको गुणस्तरीय बिउ उत्पादन, उत्पादन क्षमता कम भएको पुरानो बिउ विस्थापन र बिउ आलुमा आत्मनिर्भर बनाउन कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष आचार्यको भनाइ छ।

कृषि प्राविधिकहरूले समयानुकूल बाली र ठाउँ परिवर्तन गरेर खेतीपाती गर्न सुझाउने गरे पनि कृषकले एकै ठाउँमा एकै जातको खेतीलाई वर्षौँदेखि निरन्तरता दिँदै आइरहेका छन्। तर उत्पादनमा आशातीत सफलता मिल्दैन।

‘यहाँ धान भन्दा पनि कोदो र आलुको उत्पादन राम्रो हुने गरेको छ। एकै ठाउँमा एकै खालको खेती सधैँभर गर्नु भन्दा चक्रीय रूपमा खेती गर्नु राम्रो हो। सधैँ एउटै बिउको प्रयोग हुँदा उत्पादन र गुणस्तर कम हुन्छ’, गाउँपालिकाका कृषि अधिकृत राजु गौतम भन्छन्, ‘बिउमा सुधार नभए रोग र किराको प्रकोप पनि रहन्छ। गुणस्तरीय बिउ उत्पादन गरेर आलु उत्पादन र गुणस्तर सुधार गर्न सके कृषकलाई व्यावसायिक सफलता मिल्छ।’

मूल बीउ उत्पादन गर्नराष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्क) ले सिफारिस गरेको रोग प्रतिरोधात्मक क्षमताको पूर्व मूल बीउ ल्याइएको छ। नौ रोपनी क्षेत्रफलमा खुमल सेतो १, खुमल उज्ज्वल, जनकदेव, खुमल रातो र कार्डनल जातको आलु लगाइँदै छ। अहिले लगाएको बिउ पाँच पुस्तापछि खायन (खानका लागि बिउ रोप्न) योग्य हुन्छ। कृषकहरूलाई बिउबाट आत्मनिर्भर बनाउनका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा १० रुपैयाँ विनियोजन गरेको छ।

बराह, चिहानकाटे, लाम्पाटा र रात्माटामा ८८ बोरा दोस्रो पुस्ताको बिउ आलु रोपिएको छ। यो बिउ  आलु कृषकलाई पचास प्रतिशत अनुदानमा वितरण गरिएको छ। अहिले लगाएको पूर्व बिउ आलु उत्पादन भएपछि कृषकबाट गाउँपालिकाले खरिद गरेर चिस्यान गृहमा राख्ने र पहिलो पुस्ताको बिउ उत्पादन गर्न कृषकलाई उपलब्ध गराउने जनाएको छ ।

यस वर्ष लगाइएको आलु खेतीवाट आगामी वर्षका लागि झण्डै १०० रोपनी क्षेत्रफलका लागि बिउ उत्पादन हुने छ भने दुई वर्षमा गाउँपालिकाभरि आवश्यक पर्ने बिउ उत्पादन गर्ने लक्ष्य राखिएको छ। आगामी पाँच वर्षमा पर्वत सहित बागलुङ, म्याग्दी, मुस्ताङका लागि पनि आलुको उन्नत जातको बिउ पुर्‍याउन सकिने छ।

अहिले लगाइएको बिउ नयाँ जातको भए पनि अनुसन्धान परिषद्ले नै सिफारिस गरेकोले उत्पादनमा कुनै समस्या नरहने कृषि प्राविधिक बताउँछन्। उत्पादन भएको सबै बिउ गाउँपालिकाले खरिद गरिदिने सम्झौता भएकोले बिउ आलुलाई बजारको समस्या नहुने कृषक समूहका अध्यक्ष बाबुराम रेग्मी बताउँछन्। धेरै वर्षदेखि एउटै बीउ लगाउँदा उत्पादन र गुणस्तर घटेपछि आफै बीउ उत्पादन गर्न गाउँपालिकासँग साझेदारी गरिएको उनको भनाइ छ।साभार थाहा खबर

Back to top button