
वीरगञ्ज । किशोरीलाई जर्बजस्ती करणी गरेको आरोप लागेपछि फरार रहेका बाराको निजगढ नगरपालिका वडा नं. २ का वडा अध्यक्ष राजु भनिने राजन श्रेष्ठले प्रहरीमा आत्मसमर्पण गरेका छन् ।
आइतबार बेलुका उनी स्वयं प्रहरी सम्पर्कमा आएको इलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक संजीव ओलीले जानकारी दिए ।
किशोरीका अभिभावकले २५ असोजमा इलाका प्रहरी कार्यलय निजगढमा उनीविरुद्ध किटानी जाहेरी दिएका थिए । दशैंको टीकाको दिन १९ असोजमा वडा अध्यक्ष राजुले किशोरीलाई जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । गम्भीर प्रकृतिको फौजदारी अभियोगमा मुद्दा परेलगत्तै उनी फरार भएका थिए ।
इलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक संजीव ओलीले प्रहरीले खोजतलास जारी राखेको बेला श्रेष्ठ आफैं प्रहरी कार्यालयमा आएको बताए । ‘मंसिर ४ गतेको निर्वाचनमा केन्द्रीय भएकाले खोजतलास केही सुस्ताएको थियो, निर्वाचन लगत्तै खोजतलास व्यापक बनाएका थियौं,’ उनले भने, ‘उहाँ हिजो बेलुका आफैं आउनुभयो ।’
बारा जिल्ला अदालतबाट आज म्याद थप गर्ने र बयान लिने लगायतका अन्य अनुसन्धानका कार्यहरु शुरु गर्ने उनले बताए ।जिल्ला प्रहरी कार्यालय बाराले जाहेरी परेलगत्तै घटनास्थल जाँच मुचुल्का, किशोरीको स्वास्थ्य परीक्षण गर्ने, बयान लिने लगायतका कानुनी प्रक्रियाहरु पूरा गरेको बताएको थियो ।साभार अनलाईन खबर