आज राष्ट्रिय पोल्ट्री दिवस, व्यवसायी भन्छन् : हाम्रो समस्या सुन्ने र बुझ्ने कोही भएनन्

काठमाण्डाै – आज राष्ट्रिय पोल्ट्री दिवस मनाइँदैछ । सरकारले २०७० सालमा हरेक वर्ष पुस १७ गतेलाई पोल्ट्री दिवस मनाउने निर्णय गरेको थियो ।

दशौँ राष्ट्रिय पोल्ट्री दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । अण्डा, मासु, चल्ला र दानामा आत्मनिर्भर पोल्ट्री व्यवसाय अहिले समस्यामा परेको व्यवसायीको गुनासो छ ।

दानाको कच्चा पदार्थमा भएको मूल्यवृद्धि, उच्च ब्याजदर, लागतअनुसारको बजार मूल्य नपाउँदा, भारतीय उत्पादन निर्बाधरूपमा प्रवेश पाउँदा व्यवसाय समस्यामा परेको उनीहरुको भनाइ छ ।

नेपालमा पोल्ट्री व्यवसायमा एक खर्ब ५० अर्ब रुपैयाँभन्दा धेरै लगानी छ । नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टले कुखुराजन्य उत्पादन व्यवसायी नोक्सानमा रहेको बताउनुभयो । दैनिक घाटा बेहोरिरहेको, बैंकले थप लगानी नगरेको, जग्गा बिक्री नभएको र खोरमा राखिएका कुखुरा बचाउनसमेत मुस्किल परेको उहाँको गुनासो छ । तर समस्या सुन्ने र बुझ्ने कोही नभएको पनि उहाँको गुनासो छ । तीन सय ८४ ह्याचरी उद्योगमध्ये अहिले दुई सयमात्रै सञ्चालनमा रहेका महासङ्घले जनाएको छ । एक हप्तामा ४५ लाख चल्ला उत्पादन हुँदै आएकामा अहिले घटेर २५ लाखमा झरेको छ ।

महासङ्घका उपाध्यक्ष एवम् ह्याचरी उद्योग सङ्घका पूर्व केन्द्रीय अध्यक्ष टीकाराम पोखरेलका अनुसार ब्रोइलर र लेयर्सको चल्ला उत्पादन गर्ने माउ (प्यारेन्ट) धेरैजसो विदेशबाट आउने गर्छ । कोभिडपूर्व मासिक एक लाख ५० हजार हाराहारी प्यारेन्ट नेपाल आउने गरेकामा गएको वैशाखयताको सरदर मासिक ६० हजारमात्रै आउने गरेको उहाँले जानकारी दिनुभयो । प्यारेन्टबाट उत्पादित चल्लासमेत सबै बिक्री हुन नसकेको उहाँको भनाइ छ ।

मासुको माग निकै घटेकाले उत्पादन भएर पनि कुखुरा नबिकेको उहाँको गुनासो छ । भारतमा बिक्री गर्न नमिल्ने गरी बूढा भएका कुखुरा नेपालमा सस्तोमा आउने हुँदा यहाँको उत्पादनले मूल्य नपाएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘ब्रोइलर कुखुरा २८ देखि ३५ दिनभित्रको खान उपयुक्त हुन्छ । तर बजारमा बूढा कुखुराको मासु आउने गरेको छ ।’ ती धेरैजसो भारतबाट ल्याएर कोल्डस्टोरमा राखेर बिक्री गर्ने गरेको उहाँ बताउनुहुन्छ । भारत सरकारले कुखुरापालनमा जग्गा खरिददेखि सबै कार्यमा अनुदान दिने हुँदा सस्तोमा कुखुराजन्य उत्पादन हुने गर्दछ । भारतमा लागत कम हुने हुँदा नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न नसक्ने उहाँको भनाइ छ ।

नेपालमा दुई हजार पाँच सय लेयर्स (अण्डा उत्पादन गर्ने) फार्म रहेकामा ७० प्रतिशत हाराहारी बन्द भइसकेका छन् । तीस हजारभन्दा बढी लेयर्स कुखुरा पाल्ने फार्मको सङ्ख्या ५० हाराहारी छ । यसले ७५ प्रतिशत अण्डा उत्पादन गर्दछ । पोल्ट्री व्यवसाय चरम सङ्कटमा पुगेपछि केही महिनाअघि ठूला लेयर्स फार्मका सञ्चालकहरू सङ्गठित भएर नेपाल लेयर्स कुखुरापालक सङ्घ गठन गरेका छन्।

Back to top button