नवनियुक्त प्रधानमन्त्री प्रचण्डको शपथ आज

काठमाण्डाै – नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथ ग्रहण आज हुने भएको छ । आज दिउँसो ४ बजे शपथ ग्रहण कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम माओवादी अध्यक्ष प्रचण्डलाई हिजो प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

प्रतिनिधि सभा चुनावमा कुनै पनि एक दलको बहुमत नआएकाले राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को २ अनुसार मिलीजुली सरकार बनाउन हिजो बेलुकी ५ बजेसम्मको समय दिनुभएको थियो । राष्ट्रपतिले दिएको समयभित्र प्रचण्डले १ सय ६९ सांसदको समर्थनसहित प्रधानमन्त्रीमा दाबी पेस गर्नुभएको थियो ।

प्रचण्डलाई माओवादी केन्द्रसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी नेपाल (जसपा), जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टी तथा स्वतन्त्र सांसदहरु प्रभु साह, किरणकुमार साह र अमरेशकुमार सिंहको समर्थन छ । २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा सरकार गठनका लागि १ सय ३८ सांसद आवश्यक पर्नेमा प्रचण्डलाई १ सय ६९ सांसदको समर्थन रहेको छ ।

कांग्रेसको नेतृत्वमा रहेको सत्ता गठबन्धन भत्किएपछि एमाले, माओवादीलगायतको नयाँ गठबन्धनबाट प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । एमाले र माओवादी केन्द्रबीच आधाआधा कार्यकाल प्रधानमन्त्री बन्ने सहमति भएको छ ।

यसअनुसार पहिलो साढे दुई वर्ष प्रचण्ड प्रधानमन्त्री बन्नुभएको छ भने साढे दुई वर्षपछि एमालेले प्रधानमन्त्री लिने सहमति भएको छ । प्रधानमन्त्रीमा प्रचण्डको यो तेस्रो कार्यकाल हो । यसअघि उहाँ २०६५ र २०७३ मा ९/९ महिनाको अवधि प्रधानमन्त्री बन्नुभएको थियो ।

Back to top button