पर्वत आर्थरले बाँझो जमिन उपयोगमा ल्याउँदै

पर्वत। यहाँको एक वडा कार्यालयले बाँझो जमिन उपयोगमा ल्याउने भएको छ । जिल्लाको कुश्मा नगरपालिका वडा नं.१४ आर्थर डाँडाखर्कले वडा भित्र खाली र बाँझो रहेको जमिन उपयोगमा ल्याउन लागेको हो । खाली र बाँझो जमिनमा चिया खेतीका लागि सम्भाव्यता अध्ययन गरिने भएको छ ।

आर्थरमा बाँझो जमिन प्रशस्त छ । चियाखेतिका लागि उपयुक्त हावा, पानी र माटोको आवश्यक छ, वडा अध्यक्ष रुद्र मोहन रिमालले भने,‘सम्भाव्यता अध्ययनका लागि राष्ट्रिय चिया तथा कफि विकास बोर्ड क्षेत्रिय कार्यालय कास्कीलाई अनुरोध गरेका छौँ ।,’ चिया खेतिको सम्भाव्यता अध्ययनका लागि छिट्टै टोली आउने अध्यक्ष रिमालको भनाई छ ।

आर्थर डाँडाखर्क पर्यटकिय गाउँ हो । यहाँको मुख्य समस्या बसाईसराई रहेको छ । गाउँमा बसाईसराईका कारण खाली जमिन बढ्दै गएको र गाउँको सौन्दर्यतामा ह्रास आउन थालेका कारण बाँझो जमिनको उपयोग गर्न लागिएको अध्यक्ष रिमालले बताए ।‘गाउँमै रोजगारी हुने मात्रै नभई नगरलाई अर्थतन्त्रमा बलियो बनाउन यसले सहयोग पुर्याउने अपेक्षा गरिएको छ,’ अध्यक्ष रिमालले भने,‘ त्यसका लागि युवाहरुलाई विदेश पलाएन हुनबाट रोक्नको साथसाथै उपयोगबिहिन भएको जग्गा प्रयोगमा ल्याउनु पर्दछ ।,’ आर्थरमा चिया खेतीको बिस्तार हुन सकेमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्नमा सहयोग पुग्ने आम नागरिकको विश्वास छ ।

बाँझो जमिनको उपयोग गर्नुको मुख्य उद्देश्य युवाहरुलाई विदेश पलाएन हुनबाट रोक्नु हो । रोजगारी नहुँदा यहाँका सयौँ युवाहरू विदेशिन बाध्य छन् भने कतिपय स्वदेशमा रोजगारीको खोजीमा भौतारिएका पाइन्छन् । बाँझो जमिन उपयोग गरेर यहाँका युवाहरुलाई गाउँमै कमाउने र गाउँमै रमाउने बातावरण सिर्जना गर्न सकेमा बसाईसराई दर कम हुने स्थानीयको भनाई छ ।साभार गण्डकी संचार

Back to top button