पूर्व साँसद जोशीद्धारा कुमाल सामुदायिक भवनको शिलान्यास

पर्वत । पर्वतको कुश्मामा ‘कुमाल सामुदायिक भवन’ बन्ने भएको छ । कुश्मा नगरपालिका–५ कुश्मा बजारको छेउमा रहेको बौद्ध गुम्बा नजिकैको डिलमा सभा हल सहित दुई तल्ला भवन बन्न लागेको हो ।

भवनको नेपाली काँग्रेसका नेता एवम् संविधान सभा सदस्य अर्जुनप्रसाद जोशीले शिलान्यास गर्नुभएको छ । शिलान्यास कार्यक्रममा बोल्दै नेता जोशीले आफ्ना कला, भाषा र संस्कृतिको संरक्षणका लागि सम्पूर्ण कुमाल समुदायहरु एक जुट भएर अगाडि बढनु पर्ने बताउनुभयो । कुमाल समुदाय अल्पसंख्यिक भएका कारण नेपालको मुलधारमा आउन नसकेको बताउँदै नेता जोशीले कुमाल संस्कृतिलाई बचाउनको लागि सामुदायिक भवनले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमको प्रमुख अतिथी समेत रहेका जोशीले भन्नुभयो,‘कुमाल जाती भनेको कुश्माको संस्कृति हो । यो समुदायमा भित्र उन्नत खालको संस्कृती छ । कुमाल भनेर आत्महिनता नगरी कला, संस्कृतीलाई नेपालभर चिनाउन युवापुस्ताले भुमिका खेल्नुपर्छ ।,’ उहाँले भवनलाई कुमाल संस्कृतिकोे अध्ययन गर्ने थलोको रुपमा प्रयोग गर्न समेत आग्रह गर्नुभयो । साथै जोशीले भवन निर्माणका लागि आवश्यक बजेट विन्योजन गर्नका लागि पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

भवन निर्माणका लागि शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामजिक विकास मन्त्रालयले हाललाई ५ लाख बजेट विन्योजन गरेको छ । भवन निर्माणका लागि थप १० लाख रुपैयाँ आवश्यक पर्ने भवन निर्माण समितिका अध्यक्ष लिलवहादुर कुमालले बताउनुभयो। ‘यो भवन कुमाल संस्कृतिको मात्र होईन, सम्पूर्ण जातजाती र समुदायको हो, अध्यक्ष कुमालले भन्नुभयो,‘भवन निर्माण प्रश्चात विभिन्न सिपमुलक र रचनात्मक कार्यमा भवन प्रयोग गरिने छ ।,’
भवन निर्माणका लागि आवश्यक थप रकम कुश्मा नगरपालिका र अन्य निकायसँग माग गरिने छ । भवन निर्माणले विभिन्न जाती, भाषा, धर्म, संस्कृति र वर्गमा बिबिधता रहेको नेपाली समाजलाई भावनात्मक रुपमा संगठित र एकताबद्ध बनाइराख्न सहयोग पुग्ने कुश्मा नगरपालिका –५ का वडा अध्यक्ष रामहरि शर्माले बताउनु भयो । कार्यक्रममा कुश्मा नगरपालिकाका जनप्रतिनिधी सहित विभिन्न राजनीतिक दलका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । साभार गण्डकी संचार 

Back to top button