नेपालमा ६ हजार ४ सय ८६ व्यावसायिक पशुपालन फार्म

काठमाण्डाे – नेपालमा कूल ६ हजार ४ सय ८६ व्यावसायिक पशुपालन फार्म रहेको तथ्याङ्क सार्वजनिक भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘व्यावसायिक पशुपालन एकीकृत सर्वेक्षण २०७८’ मार्फत यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो ।

विश्व खाद्य तथा कृषि सङ्गठनको सहयोगमा कृषि मन्त्रालय र राष्ट्रिय तथ्याङ्क कार्यालयले गएको आर्थिक वर्ष २०७८/७९ मा नेपालभरि व्यावसायिकरुपमा सञ्चालनमा रहेका ठूला तथा मध्यम पशुपालन व्यवसायको एकीकृत सर्वेक्षण, २०७८ कार्यक्रम सञ्चालन गरेको थियो । सर्वेक्षणको नतिजाअनुसार देशभर एक हजार दुई सय ३३ वटा गाईपालन फार्म र नौ सय १४ वटा भैँसीपालन फार्म रहेका छन् ।

त्यस्तै, ४३ वटा राँगापालन फार्म, दुई हजार दुई सय ९५ वटा बाख्रा र च्याङ्ग्रापालन फार्म, पाँच सय ७२ वटा भेडापालन फार्म रहेको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ । मासु प्रयोजनका लागि एक सय १८ वटा र पाठापाठी उत्पादन प्रयोजनका लागि तीन सय ६४ वटा सुँगुरपालन फार्म सञ्चालनमा रहेको पनि प्रतिवेदनमा उल्लेख छ ।

नेपालमा २६ हजार गाई र भैंसीबाट आठ करोड ९० लाख लिटर दूध उत्पादन हुने गरेको पाइएको छ । सर्वेक्षणले नेपालमा ४४ हजार ८ सय ७३ वटा गाई/गोरु व्यावसायिक रुपमा पालिएको देखाएको छ । ती गाई, गोरुमध्ये उन्नत जातको सङ्ख्या ३३ हजार ७ सय ५७ रहेको छ । त्यसमध्ये दूध दिने १५ हजार ३ सय ८० र नदिने ९ हजार १ सय ४ रहेको छ । प्रति गाई प्रति दिन सरदर १० लिटर दुध दिने गरेको पाइएको छ ।

दुई करोड ३२ लाख ३१ हजार ९१ लिटर दूध भैंसीबाट उत्पादन भएको छ । त्यसमध्ये मुर्रा जातको भैंसीबाट सबैभन्दा बढी दुध उत्पादन हुने गरेको पाइएको छ । प्रति भैंसीबाट प्रत्येक दिन सरदर आठ लिटर दुध उत्पादन हुने गरेको सर्वेक्षणले देखाएको छ । उत्पादित दुधमध्ये गाईको ८९ प्रतिशत भैंसीको ८५ प्रतिशत दूध बिक्री हुने गरेको सर्वेक्षणले देखाएको छ ।साभार उज्यालो अनलाईन

Back to top button