भक्तपुरमा आगलागी, एक जनाको ज्यान गयो

काठमाण्डाै – भक्तपुरमा आगलागी हुँदा जलेर एक जनाको ज्यान गएको छ । एक जनाको भने उद्धार गरिएको छ ।

भक्तपुरको मध्यपुरथिमी नगरपालिका वडा नम्बर ६ राईटोल माथिल्लो कुण्डोलका ४९ वर्षका आत्माराम केसी र ४१ वर्षका हरिशरण केसीकाे इट्टा र काठले बनेको तीन तले घरमा बिहान आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीका कारण घरभित्र रहेकी आत्माराम केसीकी २५ वर्षकी छोरी अस्मिताको ज्यान गएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।

अस्मिता सुस्त मनस्थिति र प्यारालाइसिसबाट पीडित हुनुहुन्थ्यो । यस्तै, आगलागीबाट घाइते भएकी हरिशरण केसीकी १४ वर्षकी छोरी नित्माको भने कोरियन अस्पतालमा उपचार भइ डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ । बिहान पौने ८ बजे लागेको आगो प्रहरी, नेपाली सेना र स्थानीयबासिन्दाको सहयोगमा झण्डै ९ बजे निभ्याइएको थियो । प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ । साभार उज्यालो अनलाईन

Back to top button