४०० मिटर हर्डल्समा जयरानीले आफ्नै कीर्तिमान सुधार गरी जितिन् स्वर्ण

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सको ४०० मिटर हर्डल्समा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गर्दै स्वर्ण जितेकी छन् ।पोखरा रंगशालामा आइतबार भएको स्पर्धामा जयरानीले निर्धारित दूरी १ मिनेट ०४.१३ सेकेण्डमा पूरा गरिन् ।

यो स्पर्धामा एपीएफकी भागरती कुमारी थारुले १ मिनेट ०६.०६ सेकेण्डको समयसहित रजत र एपीएफकै कल्पना श्रेष्ठले १ मिनेट ०६.५१ सेकेण्डको समयसहित कांस्य जितिन् ।

गत असारमा काठमाडौंमा भएको ४४औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा जयरानीले १ मिनेट ०७.०२ सेकेण्डको टाइमिङसहित राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।त्यतिबेला उनले ८ वर्ष पुरानो सविता चौधरीको कीर्तिमान तोडेकी थिइन् ।

जयरानी आफूले स्वर्ण जित्नेमा ढुक्क नै थिइन् । ‘म कीर्तिमान सुधारकै लागि दौडिएकी थिएँ । सोचेभन्दा राम्रो प्रदर्शन भएकोमा खुसी छु,’ भन्छिन्, ‘मेरो इभेन्टमा प्रतिस्पर्धा कम हुने गरेको छ । तयारी पनि राम्रो भएकाले अनुकुल नतिजा आउनेमा ढुक्क थिएँ । अवसर पाएमा आगामी दिनमा अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि राम्रो प्रदर्शन गर्ने प्रयास गर्नेछु ।’

यो पनि पढ्नुहोस

केशरीलाई पछ्याउँदै जयरानी

एथलेटिक्सको दोस्रो दिन आइनबार हर्डल्सको फाइनल स्पर्धाको तालिका थिएन ।

तर १२ जनाले नाम दर्ता गरेकोमा ५ जनाले फिर्ता लिएपछि सिधै फाइनल खेलाइएको हो ।

यसअघि आइतबार नै पुरुष १० हजार मिटर दौडमा आर्मीका दीपक अधिकारीले स्वर्ण जितिसकेका छन् ।

Back to top button