शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

काठमाण्डाै – वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ । उहाँको १ सय ३ वर्षको उमेरमा बिहान ७ बजेर ९ मिनेटमा निधन भएको हो । जोशीको छातीमा निमोनिया सङ्क्रमण देखिएको थियो । निमोनिया र मुटुरोगसँगै पछिल्लो समय डेङ्गी सङ्क्रमण देखिएपछि जोशी २४ दिनदेखि उपचारत हुनुहुन्थ्यो ।

स्वास्थ्य अवस्था केही सुधार भएपछि गएको बुधवार आईसीयूबाट क्याबिनमा सारिएकोमा उहाँलाई फेरि आईसीयूमै राखेर उपचार हुँदै आएको थियो । ललितपुरको बखुम्बहालमा १९७७ साल वैशाखमा जन्मिएका जोशी संस्कृतिविद् हुनुहुन्छ । उहाँ तीन पटक मदन पुरस्कार पाउने एक्लो व्यक्ति हुनुहुन्छ ।

‘लोक संस्कृति’ नामक पुस्तकले २०१३ सालमा मदन पुरस्कार पाएको थियो । त्यस्तै ‘नेपाल राष्ट्रिय मुद्रा’ नामक पुस्तकका लागि दोस्रो पटक र ‘कर्णाली लोक संस्कृति’ पुस्तकका लागि तेस्रो पटक मदन पुरस्कार पाउनुभयो । जोशी पुरातत्त्व विभागका पहिलो निर्देशक हुनुहुन्थ्यो ।

२०१५ सालमा पुरातत्त्व विभागको निर्देशक हुँदा उहाँ ३८ वर्षको हुनुहुन्थ्यो । उहाँका संस्कृतिसम्बन्धी १० पुस्तक प्रकाशित छन् । कलाकार अरनिकोका विषयमा आम नेपालीलाई जानकारी दिने पनि सत्यमोहन जोशी पहिलो व्यक्ति मानिनुहुन्छ । उहाँले ‘कलाकार अरनिको’ पुस्तक सार्वजनिक गर्नुभएको थियो ।साभार उज्यालो अनलाईन

Back to top button