मालढुङ्गा–बेनी सडक चार दिनपछि सञ्चालनमा

म्याग्दी – म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक चार दिनपछि सञ्चालन भएको छ ।

पर्वतको जलजला गाउँपालिका–७ केराबारीमा पहिरो खसेपछि असोज २४ गतेदेखि अवरुद्ध बनेको सडक मर्मत गरेर सञ्चालन गरिएको हो । पहिरो पन्छाएपछि पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गादेखि जलजला गाउँपालिका हुँदै म्याग्दीको बेनी जोड्ने सडकमा यातायात सञ्चालन भएको मिलनचोक प्रहरी चौकीले जनाएको छ ।

तत्कालका लागि यातायात सञ्चालन भए पनि थप पहिराेको जोखिम भएकाले आवतजावतका क्रममा सतर्कता अपनाउन र रातको समयमा ध्यान दिन मिलनचोक प्रहरी चौकीका प्रमुख मुक्त खड्काले बताउनुभयो ।

स्तरोन्नतिको क्रममा रहेको मालढुङ्गा–बेनी सडकको केराबारी खण्डमा सडकमाथिको पाखो चिरा–चिरा परेको छ । यस ठाउँमा सडक विस्तारका लागि ठेकेदारले डोजर प्रयोग गरेर पहाड फुटाएको र जथाभाबी ढुङ्गा निकालेकाले पहिरो गएको स्थानीयवासीले बताएका छन् ।

मालढुङ्गा–बेनी सडक अवरुद्ध भएपछि म्याग्दी र मुस्ताङ आउने जाने गाडीले मालढुङ्गा–बागलुङ–बेनी सडक प्रयोग गरेका थिए । मालढुङ्गा–बाग्लुङ–बेनी सडकअन्तर्गत बेनी नगरपालिका–१ को रुइनेडाँडामा पहिराेले सडक भासिएपछि गाडी सञ्चालनमा समस्या भएकाे छ ।

Back to top button