विप्लव माओवादीले चुनाव बहिस्कार गर्ने

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आगामी मंसिर ४ गतेको निर्वाचन बहिष्कार गर्ने भएको छ ।पार्टीभित्र निर्वाचनमा भाग लिने/नलिनेमा दुई धार भएपनि अन्तिममा विप्लव नेतृत्वको नेकपाले चुनाव बहिष्कार गर्ने निर्णयमा पुगेको हो ।

सरकारले चुनावमा जाने वातावरण नबनाएकाले बहिष्कार गरिने केन्द्रीय सदस्य असल क्षेत्रीले बताउनुभयो ।गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा भने उक्त पार्टीले स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचनमा भाग लिएको थियो । निर्वाचनमा राम्रो नतिजा नआएपछि प्रदेश र संघको चुनाव बहिस्कार गरेको सो पार्टीले जानकारी दिएको छ ।

सरकारले गत साउनमा विप्लवसहित शिर्ष नेताहरुलाई पक्राउ पुर्जी जारी गरेपछि असोज १ गतेदेखि गर्ने भनिएको ९ औं महाधिवेशन समेत प्रभावित भएको छ ।

विप्लव नेतृत्वको नेकपाले असोज १ गते काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको थियो । सरकारले पक्राउ पुर्जी जारी गरेपछि स्थगित भएको विप्लव नेतृत्वको नेकपाको महाधिवेशन कहिले हुने निश्चित भइसकेको छैन ।

यस्तै, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत, गोपाल किराती नेतृत्वको नेकपा माओवादी र विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीले पनि निर्वाचन बहिष्कार गर्ने निर्णय गरेका छन् ।साभार ईमेज खबर

Back to top button