कक्षाकोठा र डेस्क बेन्च अभावमा चौरमै परीक्षा दिन्छन् विद्यार्थी

काठमाडौं । अहिले अधिकांश सामुदायिक विद्यालयहरुले तेस्रो त्रैमासिक परीक्षा सञ्चालन गरिरहेका छन् । ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयहरुले शिक्षक अभाव, भौतिक पूर्वाधार र डेस्क बेन्चको अभाव झेलिरहेका छन् ।

यस्तैमा रुकुम पशिचमको बाँफिकोट गाउँपालिका-१ पालाकोटको जनएकता माध्यमिक विद्यालयका विद्यार्थी चौरमा बसेर परीक्षा दिइरहेका छन् । पर्याप्त कक्षाकोठा र डेस्क बेन्च नहुँदा आलोपालो गरेर पठन पाठन हुने गरेकामा परीक्षामा भने चौरमा सञ्चालन गरिएको हो ।

परीक्षाको समयमा दुरी कायम गरेर सञ्चालन गर्नुपर्ने हुँदा अभाव भएकोले चौरमा चलाउनुपरेको गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख रत्नबहादुर केसीले बताए ।

उनी भन्छन्, ‘हाम्रो गाउँपालिकाका विद्यालयहरुमा पर्याप्त भौतिक पूर्वाधार बनिसकेको छैन । त्यसैले सिट प्लान गर्न कोठामा भ्याइएन होला बाहिर बसालेका होलान् ।’ गाउँपालिकाको चन्द्रज्योति मावि, बालकल्याण मावि, सिद्धार्थ माविमा पनि परीक्षाको समयमा कक्षाकोठाको अभाव हुने उनले बताए ।

यीमध्ये केही विद्यालयमा यो वर्ष राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत केहीमा भवन निर्माणको बजेट परेको शिक्षा शाखा प्रमुख केसीले जानकारी दिए ।

रुकुम बाँफिकोट गाउँपालिका १ पालकोटको जन एकता माविका विद्यार्थी परीक्षा दिँदै।

डडेल्धुराको आलिताल गाउँपालिका–६ दोबाटोस्थित सिद्ध भगवती माध्यमिक विद्यालयले केही दिन अघि त्रैमासिक परीक्षा लिएको छ । पर्याप्त डेस्क बेन्च नहुँदा प्लाष्टिकको कुर्सी र चौरमा विद्यार्थी राखेर परीक्षा सञ्चालन गरेको प्रधानाध्यापक प्रयागराज जोशीले बताए ।

उनले भने ‘कक्षा सञ्चालनमा समस्या छैन । किनभने एउटै बेन्चमा चारदेखि पाँच जना बस्न मिल्छ । परीक्षामा एउटामा दुई जना भन्दा बढी राख्दैनौं त्यसैले अभाव भयो । चौर पनि राम्रो भएकोले त्यहिँ राखेर सञ्चालन गरेका हौं।’

गाउँपालिकाको अरु विद्यालयहरुमा पनि भौतिक पूर्वाधार तथा डेस्क बेन्चको अभाव रहेको आलिताल गाउँपालिकाका शिक्षा शाखा प्रमुख देवराज पन्तले बताए ।

उनले भने ‘भौतिक पूर्वाधार पनि राष्ट्रपति शैक्षिक सुधारबाट हरेक वर्ष थप्ने काम भइरहेको छ ।’ पठनपाठनको लागि भने विद्यालयहरुले आलोपालो र एउटै बेन्चमा पाँच जनासम्म राखेर सञ्चालन गरिरहेको उनले बताए ।साभार अनलाईन खबर

Back to top button