बढ्दो तनावका बीच रुस र युक्रेनद्वारा ठूलो सङ्ख्यामा कैदीबन्दी आदान–प्रदान

काठमाण्डाै – बढ्दो तनावका बीच रुस र युक्रेनले ठूलो सङ्ख्यामा कैदीबन्दी आदानप्रदान गरेका छन् । रुसले कब्जामा लिएका आजोभ बटालियनका कमान्डरसहित दुई सय १५ जना कैदी युक्रेनलाई हस्तान्तरण गरेको छ भने युक्रेनले पनि ५५ जना रुसी लडाकु र रुस समर्थित लडाकुलाई फिर्ता गरेको बीबीसीले जनाएको छ ।

दुई देशले आदानप्रदान गरेका कैदीबन्दीको सङ्ख्या गएको फेब्रुअरीमा युद्ध सुरु भएयताकै धेरै हो । रुसले फिर्ता गरेका आजोभ बटालियनका कमान्डरले मारियोपोलको विशाल स्टिल कारखानाबाट हप्तौँसम्म रुसी आक्रमणको सामना गर्दै सहरलाई बचाउने प्रयास गरेका थिए । युक्रेनले आजोभ बटालियनलाई राष्ट्र नायकको सम्मान दिइसकेको छ ।

यस्तै युक्रेनले एक जना रुस समर्थित राजनीतिज्ञ भिक्टर भेदवेदचुकलाई पनि देश निकाला गरेर रुस पठाइदिएको छ । भिक्टर युक्रेनका व्यापारी हुन् जसले युक्रेनलाई रुसमा गाभ्ने अभियानसहित वर्षाैँदेखि एक राजनीतिक दलको नेतृत्व गरेका थिए । युक्रेनी राष्ट्रपतिको कार्यालयका प्रमुख एन्ड्री यमार्कले टर्की र साउदी अरबको मध्यस्थतामा भएको वार्ताका कारण ठूलो सङ्ख्यामा कैदीबन्दी साटासाट भएको भन्दै यसलाई ठूलो सफलताका रूपमा लिएको बताएका छन् ।

रुसी राष्ट्रपति भ्लादिभिर पुटिनले तीन लाख जना ‘रिजर्भ’ सेना परिचालन गर्ने र युक्रेनमा कब्जा गरिएका सहरमा जनमत सङ्ग्रह गरेर रुसमा गाभ्ने निर्णय गरेको दोस्रो दिनमा नै भएको कैदी साटासाटको निर्णयलाई निकै महत्त्वका साथ हेरिएको छ । साभार उज्यालो अनलाईन

Back to top button