म्याग्दीको बेनीमा रहेको १ सय ३५ वर्ष पुरानो झोलुङ्गे पुल जीर्ण

म्याग्दी – म्याग्दीको सदरमुकाम बेनीमा रहेको १ सय ३५ वर्ष पुरानो झोलुङ्गे पुल मर्मत सम्भारको अभावमा जीर्ण बनेको छ ।

बेनी नगरपालिका–७, मङ्गलाघाट र २ नम्बर वडा बगरफाँट जोड्ने म्याग्दी खोलामाथि काठको सहयोगमा निर्माण गरिएको झोलुङ्गे पुल जीर्ण बनेको हो ।

१९४४ सालमा निर्माण गरिएको म्याग्दीखोला वारि मङ्गलाघाट र पारिको बस्ती बगरफाँटलाई जोड्ने झोलुङ्गे पुल जीर्ण बन्दै गएपछि दुर्घटनाको जोखिम बढेको स्थानीयवासीले गुनासो गरेका छन् । पुलको लठ्ठामा खिया लाग्नु, काठका फ्ल्याकहरु कुहिँदै जानु र गएको वर्ष पुलमाथि जीप खसेर दुर्घटना हुँदा पुलमा क्षति पुगेपछि पुल कोल्टे पर्नुका साथै जीर्ण बन्दा दुर्घटनाको जोखिम बढेको छ ।

यो पुल बाग्लुङको गलकोटका स्वर्गीय लालप्रसाद शेरचनले लुकुर वनको काँचो फलाम र म्याग्दी जिल्लाको रुम गाउँका स्थानीयको पुलमा काम गर्ने परम्परागत सिपलाई प्रयोग गरी बनाउनुभएको थियो । मङ्गलाघाट र बगरफाँट जोड्ने म्याग्दी खोलामाथि रहेको झोलुङ्गे पुलको लम्बाइ ४२ मिटर रहेको छ भने चौडाइ १ सय ६ सेन्टिमिटर रहेको छ ।

पुरानो तथा ऐतिहासिक महत्त्व बोकेको मङ्गलाघाटको झोलुङ्गे पुलको मर्मतसम्भार गर्न आवश्यक पहल थालिएको बेनी नगरपालिकाले जनाएको छ । साभार उज्यालो अनलाईन

Back to top button