सत्ता गठबन्धन निकट विद्यार्थी संगठनद्वारा राष्ट्रपतिविरुद्ध प्रदर्शन

काठमाडौं । सत्तारूढ दलनिकट विद्यार्थी संगठनहरूले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै प्रदर्शन गरेका छन् ।हीबार माइतीघर मण्डलामा गठबन्धनका संयुक्त विद्यार्थी संघले राष्ट्रपतिविरुद्ध धर्ना दिँदै प्रदर्शन गरेका हुन् ।

संघीय संसदको दुवै सदनबाट पारित गरेर पठाएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई प्रमाणीकरण नगरेर राष्ट्रपति भण्डारीले संविधान नै मिचेको आरोप लगाउँदै विद्यार्थी संगठनहरु आन्दोलनमा उत्रिएका हुन् ।

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी), नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियु, जनता समाजवादी पार्टी, नेपाल निकट समाजवादी विद्यार्थी युनियन र नेपाल समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनले संयुक्त रुपमा बिरोध प्रदर्शन गरेका हुन् ।

बिरोध प्रदर्शनमा सहभागीहरुले ‘नाम उसको विद्या, संविधानलाई सिध्या’, ‘विद्यादेवी बालकोटा जा’ लगायतका नारा लगाएर बिरोध गरेका छन् ।

बिरोध कार्यक्रममा बोल्दै नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठनका अध्यक्ष सुदेश पराजुलीले विद्यार्थी आन्दोलनबाट आएको व्यवस्थालाई राष्ट्रपति विद्यादेवी भण्डारीले महारानी बन्ने सपना देखेको बताउनु भयो । उहाँले बालकोटको सहयात्री बन्दै राष्ट्रपतिले संविधानलाई कुल्चिने प्रयास गरेको बताउनु भयो ।

त्यस्तै नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु नेकपा एमालेको अन्त्यको सुरू भएको बताउनुभयो । उहाँले राष्ट्रपतिलाई शस्तलनिवासमा बस्ने अधिकार नरहेको भन्दै शीतलनिवासबाट चपली हाइट नलखेटी नेपाली विद्यार्थी आन्दोलनले विश्राम नलिने चेतावनी दिनुभयो । उहाँले नेकपा एमाले निर्वाचन बिरोधी शक्ति भएको आरोप लगाउनुभयो ।

त्यस्तै नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघका सभापति दुजाङ शेर्पाले राष्ट्रपतिबाट नेपालको संविधानमा दाग लगाउने काम भएको आरोप लगाउनु भयो । उहाँले संविधान च्यातिँदै गर्दा कोही पनि चुप लागेर बस्नु नमिल्ने बताउनुभयो ।

उहाँले नागरिकता जस्तो संवेदनशील विषयलाई नेकपा एमालेले चुनाव आएपछि राष्ट्रियताको नाममा राजनीति गर्न खोजेको आरोप लगाउनुभयो ।

संयुक्त विद्यार्थी संगठनले बिरोधको कार्यक्रमहरुमा भोृलि शुक्रबार (असोज ७ गते) बिहान ११ बजे सडक बहस कार्यक्रम गर्ने बताएको छ ।

संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक मंगलबार राष्ट्रपतिले प्रमाणीकरण गर्न अस्वीकार गरेकी थिइन् ।साभार ईमेज खबर

Back to top button