डेंगी परीक्षणमा मनलाग्दी शुल्क लिएको भन्दै आलोचना भएपछि एकरूपता कायम गर्ने तयारी

काठमाण्डाै – डेंगी परीक्षणका लागि मनलाग्दी शुल्क लिएको भन्दै आलोचना भएपछि एकरूपता कायम गर्ने तयारी भएको छ । यसका लागि स्वास्थ्य मन्त्रालय आज पनि छलफलमा जुट्दै छ ।

हिजो  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सरोकारवाला निकायबीच भएको छलफलमा  एकरूपता कायम गर्ने सहमति भए पनि त्यस्तो शुल्क निर्धारण भने भएको थिएन । शुल्क  निर्धारण अघि आज पनि छलफल हुने मन्त्रालयले जनाएको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले डेंगी परीक्षण शुल्कमा एकरूपता ल्याउन छलफल भईरहेको बताउनुभयो । काठमाण्डौ उपत्यकालगायत देशैभर डेंगीको प्रकोप बढ्दै जाँदा प्रयोगशाला र अस्पतालले परीक्षण शुल्कमा मनपरी रकम असुल्न थालेका छन् ।

सरकार मातहत रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा समेत डेंगी परीक्षण शुल्क आठ सय रुपैयाँ तोकिएको छ । शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र वीर अस्पतालले भने पाँच सय रुपियाँमा नै डेङ्गु परीक्षण गराउने गरेका छन् । त्रिवि शिक्षण अस्पतालले डेङ्गु परीक्षणको शुल्क ९ सय ६० रुपैयाँ लिने गरेको छ । प्राइभेट क्लिनिकमा ४ बजेपछि आउने बिरामीको हकमा भने एक हजार दुई सय रुपैयाँ लिने गरेको छ।

यस्तै निजामती अस्पतालमा आठ सय, पाटन अस्पतालमा एक हजार पाँच सय, भक्तपुर अस्पतालमा ७ सय ५० रुपैयाँ शुल्क तोकिएको छ । डेङ्गु परीक्षण गर्ने किट विभिन्न दातृ निकायले निःशुल्क दिने गरेका छन् । तर, यसरी निःशुल्क दिएको किटमा समेत सरकार मातहतकै निकायले महँगो शुल्क लिँदा बिरामी भने मर्कामा परेका छन् । साभार उज्यालो अनलाईन

Back to top button