प्रतिनिधि सभाको बैठक आज : नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने तयारी

काठमाण्डाै – राष्ट्रिय सभाबाट अस्ति हुबहु पारित भएको नागरिकता विधेयक प्रमाणीकरणका लागि आज राष्ट्रपतिकहाँ पठाउने तयारी भएको छ ।

आज बस्ने प्रतिनिधि सभा बैठकमा राष्ट्रिय सभाबाट पारित भएको सन्देश सुनाइने र त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरी विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने तयारी भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक शुक्रवार राष्ट्रिय सभाबाट पनि हुबहु पारित भएको हो ।

यसअघि साउन २९ गते राष्ट्रपति भण्डारीले सन्देशसहित नागरिकता विधेयक फिर्ता गर्नुभएको थियो । तर राष्ट्रपतिको सन्देशलाई बेवास्ता गर्दै भदौ २ गते सत्तारुढ दलहरुको बहुमतबाट प्रतिनिधि सभाले विधेयक पास गरेर राष्ट्रिय सभामा पठाएको थियो ।

राष्ट्रिय सभाले विधायन समितिमा पठाए पनि संशोधन भएन । राष्ट्रपतिले सन्देशसहित फिर्ता गरेको विधेयक हुबहु पारित भएपछि यसबाट राष्ट्रपतिको अपमान भएको टिप्पणी हुँदै आएको छ । अब राष्ट्रपतिले १५ दिनभित्र विधेयक प्रमाणीकरण गर्नैपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिनिधि सभाको बैठक नयाँ बानेश्वरमा रहेको सङ्घीय संसद् भवनमा दिउँसो २ बजे बस्नेछ । आजको बैठकमा प्रतिनिधि सभाअन्तर्गतका विभिन्न समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची रहेको छ ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा नियमावली–२०७५ को नियम १३ बमोजिम गठित कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूको मनोनयन गर्नेछन् । यस्तै, सभामुखले सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली–२०७५ को नियम २५ र २७ बमोजिम गठित समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।साभार उज्यालो अनलाईन

Back to top button