सय दिनको काम स्मरण गर्दै मेयर बालेन्द्रको प्रतिबद्धता : अनधिकृत संरचना हटाउने अभियानबाट पछि हट्दैनौँ

काठमाण्डौ – काठमाण्डौ महानगरपालिका मेयर बालेन्द्र शाहले आफ्नो सय दिनको कार्यकालको समीक्षा गर्दै अनधिकृत संरचना हटाउने अभियानबाट पछि नहट्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले आफूहरु सय दिनको दौडमा नभइ पाँच वर्षका लागि तय गरिएका योजनामा केन्द्रित रहेर काम गरिरहेको पनि बताउनुभएको छ ।

आज सामाजिक सञ्जालमार्फत विवरण सार्वजनिक गर्दै मेयर शाहले आफूहरु अझै केही समय गाली र आलोचना सहन तयार रहेको उल्लेख गर्नुभएको छ । आफू र आफ्ना कामप्रति विश्वास र समर्थन गर्नेहरुलाई निराश नबनाउने पनि उहाँको प्रतिबद्धता छ ।

आफ्नो सय दिनको कार्यकाल आफैँले मूल्याङ्कन गर्नेभन्दा पनि नागरिकले कसरी लिनुभयो त्यसले अर्थ राख्ने उहाँको भनाइ छ । मेयर शाहले कामको सुरुवात गरेको फुटपाथबाट ठेला हटाउने अभियान, ई–स्पोर्ट्स लागि बजेट व्यवस्थापन, यमबुद्धको सालिक, फोहर व्यवस्थापन र नर्भिक अस्पताललगायत महानगरभित्रका अनधिकृत संरचना हटाउने सन्दर्भलाई उल्लेख गर्नुभएको छ ।

यस्ताे छ मेयर शाहकाे १०० दिनकाे कार्यकाल मूल्याङ्कन 

सन्दर्भ कार्यकाल १०० दिन पुगेको बारेमा हो ।

हाम्रो १०० दिन कस्तो रह्यो भन्ने बारेमा हामी आफैँले मूल्याङ्कन गर्ने भन्दा पनि आममानिसहरुले कसरी हेर्नु भयो भन्ने बढी अर्थपूर्ण हुन्छ । हामीले आफ्नो कार्यक्षेत्र, कर्तव्य र अधिकारले दिनेसम्म सचेत रहेर काम गर्यौँ, त्यसले आममानिसहरुमा कस्तो सन्देश दियो भन्ने कुराले हामीलाई फरक पार्छ । मानिसहरुमा सकारात्मक ऊर्जा प्राप्त भयो, परिवर्तनको महसुस भयो भने मात्रै हाम्रो कामले नतिजा दिएको हुन्छ । अन्यथा, हामीले यतिका कामहरु गर्यौँ भनेर सूची बनाउँदैमा हामी सफल हुन सक्दैनौँ । यसैले १०० दिन पुगिसकेको सन्दर्भमा हामीलाई मनमा छोएका केही सन्दर्भहरु सम्झिन जायज हुनेछ भन्ने लाग्छ ।

१. फुटपाथबाट मकैको ठेला हटाएको : यो सन्दर्भले अझै पनि सही वास्तवमा के हो भन्ने एक किसिमको धर्मसङ्कट महसुस हुन्छ । तर अन्तिममा के लाग्छ भने आफूले पाएको अभिभारा पूरा गर्न भावनात्मक मात्रै भएर हुन्न । फुटपाथको आधारभूत निर्माण नै पैदलयात्रुहरुको लागि हो । सहरको वास्तविक व्यवस्थापनका लागि फुटपाथ खुल्ला हुन पनि जरुरी हुन्छ । महानगरले पहिले फुटपाथका व्यापारीहरुलाई अन्यत्र राखेर खुल्ला गर्ने कोसिस गरेको थियो, जुन पूर्णरुपमा असफल भएको थियो । दिएको ठाउँ पनि भरिने र पुन: फुटपाथमा नयाँ व्यापारीहरु आइपुग्ने क्रम देश नै समृद्ध नहुन्जेल भइरहने कुरा हो । यो चक्र तोड्न महानगरको कार्यक्षेत्र र क्षमताले भ्याउने जे थियो, त्यही गरियो र गरिँदैछ । यदि हामी महानगरमा नभएर सङ्घीय सरकारमा भइदिएको भए हामीले गर्ने प्रयास फरक हुन सक्थ्यो । यो भन्दा अलग किसिमले राष्ट्रियस्तरमा नै यसको समाधान गर्न खोजिन्थ्यो होला । हाम्रा लागि यो सम्भावनाको कुरा मात्र हुन्छ । हामीले वास्तविकतामा उभिएर समाधान खोज्दा जे गर्नु पर्थ्यो, त्यहि गर्यौँ । जसको नतिजा बानेश्वर तथा असन लगायतका क्षेत्रहरुमा सकारात्मकरुपमा देखिन थालेको छ ।

२. ईस्पाेर्ट्सका लागि १ करोड : गीत गाउने, नाच्ने जस्ता कलाकारहरु प्रति केही पहिलेसम्म समाज अनुदार नै थियो । त्यसमा पनि महिला कलाकारहरुका लागि त सम्मान भन्दा पनि अफ्ठ्यारा बढी थिए । तर अहिले अवस्था फेरिएको छ । यतिसम्म कि यी सम्बन्धित रियालिटी सोहरुमा जित्नका लागि परिवारले नै लगानी गर्ने तथा सानै उमेरदेखि नाच्न, गाउन तालिम दिने क्रम बढेको छ । यो हामीले देख्दादेख्दै भएको परिवर्तन हो । त्यस्तै परिवर्तन खेल क्षेत्रमा पनि भइरहेको छ । ईस्पोर्ट्स पनि खेलकारुपमा भविष्यको आम्दानीको क्षेत्र तथा राष्ट्रिय गौरवको विषय बन्दैछ । त्यसमा हामी तयार हुने कि नहुने ? त्यो परिवर्तनलाई आत्मसाथ गर्ने कि नगर्ने ? यो प्रश्न प्रमुख थियो । हामीले त्यो परिवर्तनलाई समाजमा स्थापित गर्नका लागि बजेट छुट्यायौँ । बजेट छुट्याउने बित्तिकै आएका प्रतिक्रिया र मानिसहरुले बुझ्दै गएपछि आएका प्रतिक्रियाहरु फरक पर्न थाले । ईस्पोर्ट्समा हामीले चाहे जस्तै कार्यक्रम भए पछि हामीले बजेट छुट्याउनुको उपादेयता पनि हासिल हुन सक्ला । त्यो दिन पर्खौँ ।

३. यमबुद्धको सालिक : एउटा कलात्मक पार्कभित्रको सानो अङ्गकारुपमा यमबुद्धको सालिक बनाउने सन्दर्भ थियो त्यो । बुँदा २ मा ईस्पोर्ट्सको सन्दर्भ जस्तै हिपहप र त्यसको नेपालीकरण नेपहप सङ्गीतमा नयाँ विधा हो । यमबुद्ध सो विधाका लागि अत्यन्तै सम्मानित नाम हो । आफू त्यो विधा नजिक भएकाले त्यसलाई थप सम्मानित र व्यवस्थित बनाउन भूमिका हुनु पर्छ भनेर त्यो सोच ल्याइएको थियो । बजेटमा पार्क मात्रै भनेर पछि खुसुक्क सालिक बनाइँदा कसैलाई वास्ता नहुन पनि सक्थ्यो । तर बजेटमा धेरैभन्दा धेरै पारदर्शीता चाहिन्छ भनेर त्यो बेग्लै बुँदामा राखियो । आममानिसबाट आएका प्रतिक्रियाले हामीले निर्णयमा केही फेरबदल गर्यौँ । यति हुँदाहुँदै पनि समाजको एउटा पुस्ताको ठूलो सङ्ख्याले आफ्नो भविष्य र कलामा सम्भावना खोजिरहेको कुरालाई स्थापित गराउन बहस र छलफल गराउन सकेकोमा गौरवबोध नै भएको छ ।

४. कार्यक्रममा मद्यपान र मुकुट परिवर्तन : मान्छे एउटै जीवनभित्र फरक फरक भूमिकामा हुन्छ । म कार्यालयमा मेयर भएर व्यवस्थित भइरहँदा घरमा छोरोको रुपमा अव्यवस्थित, पतिकारुपमा प्रेमील र साथीहरुसँग जिस्किँदै फुटसलमा रमाइरहेको हुन सक्छु । यी हरेक भूमिकाका लागि अर्को भूमिका भन्दा विपरीत हुनु पर्ने पनि हुन सक्छ । माहाेलले पनि फरक पार्न सक्छ । कार्यक्रमको चर्चाका लागि वा माहाेललाई रोचक बनाउन म छुट्टै अभिनय गरिरहेको हुन पनि सक्छु । यी सबै कुरालाई सोहीरुपमा बुझिदिनु हुन आग्रह गर्दछु । सँगसँगै, सार्वजनिक व्यक्तित्व भएको कारणले समाजमा आफ्ना कार्यहरुले पार्न सक्ने प्रभावका बारेमा भने सजग रहेको जानकारी गराउँदछु ।

५. फोहर व्यवस्थापनमा ढिलाइ : यसमा के स्वीकार्नु पर्दछ भने १०० दिनभित्र फाेहर व्यवस्थापनका सन्दर्भमा हामीले जस्तो सोचेका थियौँ, हुबहु हुन सकेन । तर झन्डै २ दशकदेखि कुहिएर रहेको समस्यालाई हामीले सतहमा ल्याउन भने सक्यौँ । यसबाट वास्तविक समस्याहरुको पहिचान भएर दिगो समाधानका योजनाहरु बनाउन सक्ने भएका छौँ ।

६. नर्भिक लगायतको अनधिकृत संरचना हटाउने सन्दर्भमा : जे जुन प्रयोजनका लागि उपयोग गर्ने भनिएको छ, त्यो त्यहीरुपमा प्रयोग हुनु पर्छ । हामीले चाहेको यति मात्रै हो । कुनै पनि सर्तमा यो नियम लागू गर्न हामी पछि हट्ने छैनौँ । यी कतिपय सन्दर्भमा हामीले सम्मानित अदालतका सन्दर्भमा बोल्यौँ, सम्बन्धित व्यक्तिसामू चर्कोस्वरमा आक्रोश पोख्यौँ । आममानिसहरुको आवाज हामीले सम्बन्धित ठाउँसम्म पुर्याउने सेतुका रुपमा मात्रै हामीले ती कार्यहरु गरेका छौँ । सायद जनप्रतिनिधि हुनुको औचित्य पनि त्यही हो ।

अन्त्यमा, हामी १०० दिनको दौडमा छैनौँ, हामीसँग ५ वर्षका लागि योजना छन् । हामी अझै केही समय गाली र आलोचनामात्रै सहन तयार छौँ तर हतार गरेर महानगरका समस्याहरुको दिगो समाधान र व्यवस्थापनको बाटोबाट अन्यत्र मोडिन तयार छैनौँ । विश्वास छ, हामीप्रति रहेको विश्वास र समर्थनलाई हामी निराश बनाउने छैनौँ ।साभार उज्यालो अनलाईन

Back to top button