चीनको नाका नखुल्दा दशैँमा महँगो हुनसक्छ लत्ताकपडा

ओखलढुङ्गाका रमेश चौलागाईँले महाबौद्धको सडक किनारामा लुगा पसल गर्न थालेको करिब ३ महिना भयो । उहाँको पसलमा जिन्स पाइन्ट, सर्ट र हाफपाइन्ट पाइन्छ । ५/६ वर्ष पहिले पनि यस्तै लुगाको व्यापार गर्ने उहाँ कोरोनाकालपछि व्यापारमा मन्दी आएसँगै यो पेसाबाट टाढिनु भयो । ३ महिना अघिसम्म पठाओ राइडरको काम गरिरहनुभएका उहाँ पठाओमा पनि खासै राम्रो कमाइ नभएपछि दशैँको छेको पारेर फेरि लुगाको व्यापारमा फर्कनुभएको हो ।

पाइन्ट हेर्न आउने ग्राहकलाई उहाँ भन्नुहुन्छ, ‘पाइन्टको हजार पचास हो । मिलाएर लानुस् नौ सय रुपैयाँसम्ममा हुन्छ ।’ थोक बिक्रेताबाट सामान ल्याएर बेच्ने चौलागाईँ यसपालि सबैथोकमा जस्तै कपडामा पनि मूल्य बढेको बताउनुहुन्छ । ‘अघिल्लो वर्ष दशैँकाे मुखमा लुगा बेचेका साथीहरु यस वर्ष पहिलेको वर्षभन्दा एक, डेढ सय महँगो छ भन्छन् । अहिले दशैँको सामान सबै आइसकेको छैन । आउँदा झन महँगो हुने सुनेको छु’ उहाँले भन्नुभयो ।

उहाँजस्तै व्यापारीले बेच्न ल्याएका सामान चीनको तातोपानी र केरुङ नाकाबाट आएको नभइ जहाजमार्फत काेलकाता नाकाबाट आएको हो । ‘हाम्रो साहुजीहरुको दशैँको सामान पनि आएर नाकामा अड्किएको छ । नाका खुलेको छैन । त्यही भएर भारतबाट आउँदा सामान महँगो भयो भनेर भनिरहनु भएको छ’ चौलागाईँले भन्नुभयो ।

पछिल्लोपटक कोरोनाको कारण देखाउँदै चीनले तातोपानी र केरुङ नाका बन्द गर्दा चीनबाट आयात हुने सामान ठप्प छ । यसअघि दशैँको लागि चाहिने लत्ताकपडालगायतका धेरै सामान चीनबाटै आउने गर्थ्याे । यसपालि दशैँ नजिकिँदासमेत तातोपानी र केरुङ नाका खुल्ने नखुल्ने टुङ्गो नभएकोले सामान कहाँबाट ल्याउने भन्नेमा व्यापारीहरु अलमलमा छन् । कतिपय व्यापारीको सामान नाकामा आएर अड्किएको छ । अब छिटै यस विषयमा निर्णय भएन भने दशैँका लागि सामान ल्याउन ढिला हुने र भाउ बढ्ने व्यापारीको भनाइ छ ।

गएको ६/७ वर्षदेखि खासाबाट सामान ल्याएर व्यापार गर्दै आउनु भएका सिन्धुपाल्चोकका थोक कपडा व्यापारी रोशन खड्कालाई यसअघि तातोपानी नाका यसरी बन्द भएको र व्यापारमा अवरोध भएको थाहा छैन । खड्का भन्नुहुन्छ, ‘यता सरकारसँग भन्यो भने पनि खुल्छ होला हामीले के गर्न सक्छौँ र भन्छन् । चीनले पनि खुलाउन्न भन्दैन । तर, खोल्न पनि खोल्दैन । भएको के भन्ने हामीलाई नै थाहा छैन ।’

दशैँको मुखमा चिनियाँ नाकामा आइपुगेका सामान त्यसै अड्किने देखिन्छ । तातोपानी नाकामा सामान अड्किनु अनि जहाजमार्फत काेलकाताबाट सामान ल्याउँदा ढुवानी खर्च महँगो पर्न जाने कारणले सामानको भाउ अझै बढ्ने देखिन्छ ।

‘अहिले पनि काेलकाताबाट सामान ल्याउनु परेका कारण लत्ताकपडा पोहोरभन्दा सय, पचास रुपैयाँ महँगो छ । झन् दशैँको मुखमा पनि नाका नखोल्ने हो भने धेरै व्यापारीको सामान अड्किने र सीमित व्यापारीले मात्र सामान ल्याउने हुँदा झन महँगो हुने देखिन्छ,’ खड्का भन्नुहुन्छ, ‘काेलकाताबाट सामान ल्याउँदा झण्डै एक डेढ लाख रुपैयाँ महँगो पर्न जान्छ । अनि सामान यसै महँगो हुने भैगो नि ।’

खड्का अगाडि थप्नुहुन्छ, ‘पहिले ८ सय रुपैयाँमा पाइने पाइन्टलाई यस पटक अहिले नै ९ सय तिर्नुपरेको छ उपभोक्ताले । झन् नाकामा यस्तै अवरोध हुने हो भने कति महँगिन्छ भन्नै सकिन्न ।’

पहिले चीनबाट ठूलो परिमाणमा तयारी कपडा ल्याउने केही व्यापारीहरु अहिले चीनमा नै तयारी कपडा महँगो भएका कारण थान कपडा ल्याएर यहीँ तयारी पोसाक उत्पादनमा लागेका छन् ।

सुन्धारामा खासाको तयारी कपडाको थोक व्यापार गर्दै आउनु भएका रामचन्द्र घिमिरे अहिले आफैँ तयारी कपडा उत्पादनमा लाग्नु भएको छ । घिमिरे भन्नुहुन्छ, ‘पहिले पहिले चीनमा तयारी लुगाहरु सस्तो थियो र हामीले तयारी कपडा ल्याएर बेच्थ्यौँ । तर, अहिले चीनमा पनि तयारी लुगा महँगो भएकोले हामी आफैँले उत्पादन गर्न थालेका हौँ ।’

तयारी कपडा चीनमा महँगो भएको कारण मात्र नभएर समयमै सामान उपलब्ध गराउन नसकेका कारण पनि घिमिरेले आफैँले उत्पादनको काम थाल्नु भएको हो । घिमिरे भन्नुहुन्छ, ‘अहिले हामीले दशैँका लागि भनेर टार्गेट गरेर उत्पादन गरेका छौँ । तर, पहिले उताबाट आउँदा विभिन्न कारणले आफूले भनेको समयमा नआउँदा पनि व्यापारमा धेरै घाटा भयो ।’

उहाँको गार्मेन्टमा पाइन्ट, सर्ट, ट्रयाक सुट, हाफ पाइन्ट र ज्याकेटहरु बन्छन् । झण्डै ४०/५० जना कामदार राखेर उहाँले गोङ्गबुमा गार्मेन्ट चलाइरहनु भएको छ । घिमिरे भन्नुहुन्छ, ‘हामीले त कति उत्पादन गर्न सक्छौँ र मागको दाँजोमा केही होइन । तर, यसले पनि केही भने गरेको छ । अरुभन्दा पनि मूल्य बढ्नमा यसले केही भए पनि रोक्छ।’साभार उज्यालो अनलाईन

Back to top button