गलेश्वरधाम मन्दिरमा एक महिनामा करिब १९ लाख भेटी संकलन

म्याग्दी । पश्चिम नेपालको पशुपतिनाथका नामले चर्चित म्याग्दीको प्रसिद्ध गलेश्वरधाम शिवालय मन्दिरमा गत साउन महिनामा मात्रै करिब १९ लाख भेटी संकलन भएकाे छ ।

साउन महिनामा गलेश्वर शिवजीको दर्शन र पूजाआजा गर्न आएका भक्तजनहरुबाट उक्त रकम (भेटी) चढाएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । साउनमा परेका पाँच वटा सोमबारमा गलेश्वरधाम दर्शन तथा पूजाअर्चना गर्न आएका भक्तजनहरुबाट कुल १८ लाख ९० हजार २ सय ५३ रुपैयाँ भेटी संकलन भएकाे कोषका कोषाध्यक्ष कुमारी रोका मगरले जानकारी दिनुभयाे ।

उहाँका अनुसार यस वर्ष साउनको पहिलो सोमबार ३ लाख ३३ हजार ५ सय ६६, दोस्रो सोमबारमा ३ लाख १९ हजार ३ सय ३२, तेस्रो सोमबार ३ लाख ७ हजार १३ रुपैयाँ, चौथो सोमबार ४ लाख ६१ हजार ४ सय २३ रुपैयाँ र पाँचौ तथा अन्तिम सोमबारमा ४ लाख ६९ हजार ९ सय २९ भेटी सङ्कलन भएको हो । यस वर्ष साउनमा परेका पाँच वटा सोमबारमध्ये सबै भन्दा धेरै अन्तिम र सबै भन्दा कम तेस्रो सोमबारमा भेटी संकलन भएको छ ।

गलेश्वरधाममा म्याग्दीसहित पर्वत, बागलुङ, कास्की, चितवन, नवलपुर, नवलपरासी, काठमाडौं र बझाङ जिल्लाका साथै भारतका विभिन्न स्थानबाट समेत भक्तजनहरु दर्शन गर्न आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधव प्रसाद रेग्मीले बताउनुभएकाे छ । पाँच वटा सोमबार पर्नुका साथै गएको दुई वर्ष कोरोनाको कारणले पूजाअर्चना गर्न नपाएका भक्तजनहरुले यस वर्ष गलेश्वर पुगेर पूजा गरेका छन् ।

यसवर्ष अन्तिम सोमबार म्याग्दीसहित देशका विभिन्न जिल्लाहरुबाट १ लाख ३० हजार भन्दा बढी भक्तजनहरु आएको कोषले जनाएको छ । मन्दिरमा संकलन भएको भेटी मुचुल्का गरेर प्रहरीकै सुरक्षामा गणना गरिएको अध्यक्ष रेग्मीले बताउनुभयाे । ठूला पर्वमा भोलिपल्टै र नियमित महिनाको २ पटक गन्ने गरिन्छ ।

दान संकलन गर्ने क्रममा छिटफुट भेटी भेटिएमा हरेक महिनाको १५ दिनमा सार्वजनिक गरिन्छ । भक्तजनबाट उठेको भेटीले मन्दिरको भौतिक पूर्वाधारको विकास तथा कर्मचारी, स्वास्थ्य निकाय,र ज्येष्ठ नागरिकको व्यवस्थापन र संस्कृत पाठशाला सञ्चालनका लागि परिचालन गर्ने गरिएको छ ।

प्रसिद्ध मुक्तिनाथ मन्दिरको प्रवेशद्वारको रूपमा रहेको म्याग्दीको गलेश्वर शिवालयमा पछिल्लो पटक ११ वटा गौमुखी धारा जडान गरिएकाले पनि भक्तजनलाई यस वर्ष सहज भएको छ । गलेश्वरको दर्शन गर्न आउने भक्तजनलाई लक्षित गरेर पवित्र कालीगण्डकी नदीको गङ्गाजलले स्नान गर्ने व्यवस्था मिलाइएको हुँदा भक्तजनको संख्यामा वृद्धि हुँदै गएको छ ।

पवित्र कृष्णा गण्डकीबाट उठेर ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिरभित्र स्वयं उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको धार्मिक विश्वास रहेको छ ।

सत्य युगमा सतीदेवीले अग्निकुण्डमा हाम फालेर देहत्याग गरेपछि उनको मृत शरीर बोकेर शिव महादेवले पृथ्वीको भ्रमण गर्ने क्रममा गलेश्वरमा आएर गलापतन भएको हुँदा गलेश्वर नाम रहन गएको धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ ।

ज्योतिर्लिङ्ग, शालिग्राम, जलकुण्ड, शंखचक्रहरु र नागमणी आदि चक्राकार रूपी चिन्ह मानवनिर्मित नभई स्वंयम उत्पन्न भएको धार्मिक पुस्तकमा उल्लेख गरिएकाे छ ।

Back to top button