भक्तपुरमा फलामे गेटले किचेर एक बालिकाको मृत्यु

काठमाडाैं । भक्तपुरको लोकन्थलीमा साढे दुई तल्ले घरको कम्पाउण्डकाे फलामे गेटले किचेर एक जना बालिकाको मृत्यु भएको छ ।

सोमबार दिउँसो साढे ४ बजे भक्तपुर मध्यपुरठिमी नगरपालिका वडा नं. १ लोकन्थली रमाईलो चोकस्थित तिलक प्रसाद गौतमको साढे दुई तल्ले घरको कम्पाउण्डमा रहेको फलामे गेट अचानक पल्टिएर किच्दा ५ वर्षीय श्रीसिजा अर्याल गम्भीर घाइते भएकी थिइन् ।

सोही घरमा पाहुना आएकी श्रीसिजा अर्याल नुवाकोट जिल्लाकाे बिदुर नगरपालिका वडा नं. ८ घर भई हाल भक्तपुर बोडे बस्ने गौतम अर्यालकी छाेरी भएकाे जिल्ला प्रहरी परिसर भक्तपुरले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ ।

घाइते बालिकालाई उपचारको लागि मध्यपुर अस्पताल भक्तपुरमा लगिएकाे र उपचारको क्रममा सोमबार दिउँसाे ४:४५ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएकाे छ ।घटनास्थलमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरी थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताउनुभयाे ।साभार ईमेज खबर

Back to top button