कर्मचारीहरुले थाले दोस्रो चरणको आन्दोलन

काठमाडौं । निजामती सेवाका पदहरुको पदसोपान हेरी वैज्ञानिक तलबमान निर्धारण गर्न र कर्मचारीमैत्री संघीय निजामती सेवा ऐन जारी गर्न माग गर्दै कर्मचारीहरुले आजदेखि दोस्रो चरणको आन्दोलन सुरु गरेका छन् ।

निजामती कर्मचारीहरुको संयुक्त ट्रेड युनियन सन्जाल आन्दोलन परिचालन समितिको नामबाट संघर्षरत कर्मचारीहरुले आज ‘पे कमिसन’ (तलब आयोग) मा ट्रेड आफ्ना प्रतिनिधि पनि समावेश गराउन माग गर्दै सामान्य प्रशासन मन्त्री र अर्थ मन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरेका छन् । यद्यपि समय भने निश्चित नभएको आन्दोलन परिचालन समितिका सदस्य लोकेन्द्र चौलागाईंले बताए ।

विगतमा राजपत्रांकित तहमा भएको भनिएको तलब समायोजनलाई कायम राख्दै निजामती सेवाका पदहरुको पदसोपान हेरी वैज्ञानिक तलबमान निर्धारण गर्न ट्रेड युनियन सम्मिलित तलब आयोग गठन हुनुपर्ने कर्मचारीहरुको माग छ ।

साउन २६ गते बसेको मन्त्रिपरिषद बैठकले तलब आयोग गठन गरेको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । यद्यपि तलब आयोग कसको नेतृत्वमा गठन भएको छ, त्यसका को-को छन् भन्ने खुलेको छैन ।

दोस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत नै कर्मचारीहरुले ‘कर्मचारीमैत्री संघीय निजामती सेवा ऐन जारी गर’ भनी लेखिएको प्लेकार्ड छातीमा टाँसेर आजदेखि कामकाज गर्दै छन् ।
आजदेखि भदौ २ गतेसम्म यसैगरी कामकाम गर्ने उनीहरुले बताएका छन् ।

भदौ १ गते ४ बजे सबै राजनीतिक दलका सचेतकहरुसँग संघीय निजामती सेवा ऐनको मस्यौदा तथा ऐनमा समेटिनुपर्ने विषयमा संयुक्त छलफल गर्ने भदौ २ गते दोस्रो चरणको आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने उनीहरुले बताएका छन् ।

आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमार्फत् अर्थमन्त्री शर्माले सबै राष्ट्रसेवक कर्मचारीहरुको तलब १५ प्रतिशत बढाउने घोषणा गरेका थिए । तर साउन १ गतेदेखि लागु हुने नयाँ तलबमान प्रस्ताव गर्दा अर्थ मन्त्रालयले अधिकृतदेखि माथिका पदहरुमा २४ प्रतिशतसम्म बढाइएको थियो ।

नायब सुब्बादेखि तलका पदहरुमा भने १५ प्रतिशतमात्र बढाएर प्रस्ताव गरेपछि आफूहरुलाई विभेद गरिएको भन्दै सुब्बाहरुले पेन डाउन लगायतका संघर्षका कार्यक्रम सुरु गरेका थिए ।

कर्मचारीहरुको दबाबपछि मन्त्रिपरिषद बैठकले १५ प्रतिशत मात्र तलब वृद्धि गर्ने निर्णय गरेको थियो ।

तर अहिले पनि माथिल्लो मर्यादामा रहेकाको तलब कम र तल्लो मर्यादामा रहेकाको तलब बढी भएकाले तलबमान मिलाउनुपर्ने र संघीय निजामती सेवा ऐनको मस्यौदामा कतिपय प्रावधान कर्मचारी मैत्री नभएकाले त्यसलाई संशोधन गर्नुपर्ने लगायतका माग राखेर कर्मचारीहरुले संघर्ष जारी राखेका छन् ।साभार अनलनईन खबर

Back to top button