हत्याका आरोपीलाई कडा कारबाहीको माग गर्दै वीरगञ्जमा प्रदर्शन

वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका– ५ ईटियाहीका बासिन्दाले आइतबार वीरगञ्जमा प्रदर्शन गरेका छन् । गाउँकै २३ वर्षीय राजकुमार ठाकुरको हत्यामा संलग्नलाई फाँसी दिनुपर्ने माग राखेर उनीहरुले वीरगञ्जमा प्रदर्शन गरेका हुन् ।

मुलुकी अपराध संहितामा ज्यान मार्ने कसुरमा संलग्न रहेको व्यक्तिलाई जन्म कैदको सजाय हुने व्यवस्था छ । फाँसीको सजाय गर्ने व्यवस्था कानुनमा छैन ।

राजकुमारको हत्यामा संलग्न व्यक्तिहरुलाई फाँसी दिनुपर्ने माग उनीहरुको थियो । गत साउन २५ गते वीरगञ्ज ट्युसन पढ्न आएका राजकुमार घर फर्किएनन् । परिवारले आफन्त र साथीभाइकोमा खोजतलास गरे ।

नभेटिएपछि जिल्ला प्रहरी कार्यालय बारामा साउन २६ खोजीका लागि निवेदन दिए । प्रहरीले खोजतलास गर्ने क्रममा साउन २७ गते भारतको बिहार भागलपुर जिल्लाको भागलपुर रेल्वे स्टेशन नजिकै राजकुमारको शव भेटियो । भारतीय प्रहरीसँगको समन्वयमा शव वीरगञ्ज ल्याई सकिएको प्रहरीले जनाएको छ ।

शव पोष्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा राखिएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा उनको हत्या भएको रहस्य खुलेको प्रहरीले जनाएको छ । प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा ईटीयाहीकै २८ वर्षीय उत्तम पटेल र ३० वर्षीय प्रितम पटेललाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

अभियुक्तहरुको बुवा ६५ वर्षीय कृष्णा राउत कुर्मीलाई पनि पक्राउ गरेर कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने, ज्यान मार्ने अभियुक्तहरुलाई फाँसीको सजाय दिनुपर्ने भन्दै मृतकका आफन्त र गाउँलेले जिल्ला प्रहरी कार्यालय पर्सा घेराउको प्रयास गरेका थिए ।

उनीहरुलाई सुरक्षाकर्मीले जिल्ला प्रहरी कार्यालय, पर्सा जाने मुख्य बाटोमै रोकेको थियो । न्याय माग्न जाँदा सुरक्षाकर्मीले आफूलाई धकेलेका कारण खुट्टामा चोट लागेको मृतककी आमा गीता हजमीले बताईन् ।

‘ट्युसन पढ्न गएको छोरा घर आएन, फोन लागेन, आफन्त छर छिमेकमा खोज्दा भेटिएन’, उनले भनिन्, ‘पछि भारतमा शव भेटिएको खबर आयो, मारेर उता फालिएको रहेछ, न्याय माग्दा उल्टै मलाई प्रहरीले धकेलेर लडाए । खुट्टामा चोट लागेको छ ।’

मृतकका बुवामोतिलाल ठाकुरले किटानी जाहेरी दिनुको साथै प्रहरीले गम्भिर ढंगले अनुसन्धान गर्ने आश्वासन दिएपछि स्थानीय घर फर्केका थिए । शव पोष्टमार्टम गराउनुको साथै घटनाबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए ।

स्थानीयले आरोपीको घर पनि घेराउ गरेका छन् । ठूलो संख्यामा स्थानीय बासिन्दा घर घेराउका कृष्णा राउतको घर घेर्न पुगेपछि प्रहरीले रोकेको छ । घर घेर्न पुगेका स्थानीयलाई सम्झाएर घर फर्काउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए ।साभार अनलाईन खबर

Back to top button