यसपालिको मनसुनमा पनि प्रि-मनसुनमा झैं पानी पर्‍याे : माैसमविद्

काठमाण्डाै – यसपालिको मनसुनमा प्रि मनसुनको जस्तै गरी पानी परेको छ । मनसुनमा पनि प्रि मनसुनको जस्तै खण्ड खण्डमा पानी परेको मौसमविद्ले बताएका छन् ।

छोटो अवधिका लागि, निश्चित ठाउँमा पानी पर्ने र नजिकै अर्को ठाउँमा नपर्ने खालको गतिविधि अहिलेको मनसुनमा देखिएको मौसमविद् मञ्जु बासीले बताउनुभयो ।  उहाँका अनुसार यो वर्षको मनसुनमा पानी  पर्ने तरिका पनि फरक भएको छ ।  गएका वर्षहरुमा मनसुन सुरु भएको एक हप्तामै देशभर फैलिन्थ्यो । तर यो पटक देशभर फैलनका लागि १२, १३ दिन लाग्यो ।  त्यो पनि पूर्वमा मात्र सक्रिय भयो ।

तराई र  पश्चिमी क्षेत्रमा लामो समय पानी नपरेर गर्मी निक्कै बढ्यो । पानी पार्ने मौसमी प्रणाली विकास भएको समयमा पनि कतै एकै ठाउँमा ठूलो वर्षा हुने र कतै पानी नै नपर्ने देखिएको उहाँले बताउनुभयो । कुनै एकै ठाउँमा मात्रै पानी परिरहेकाले बाढी, पहिरो लगायतका प्राकृतिक विपत्तिका घटना बढेका उहाँले बताउनुभयो  ।

यसैबीच आज तीन वटा प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले् बताएका छन् । विशेषगरी आज  गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका  थोरै ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो । बाँकी ठाउँमा भने सामान्यदेखि मध्यम वर्षाको सम्भावना छ । अबको केही दिन लगातार झरी पर्ने सम्भावना नरहेको  मौसमविद्ले बताएका छन् ।साभार उज्यालो अनलाईन

Back to top button