म्याग्दीको खाम्लामा जोखिम मोलेर विद्यालय जानुपर्ने बाध्यताको अन्त्य

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीको खाम्लामा पैदलमार्ग निर्माण भएसँगै विद्यार्थीलाई जोखिम मोलेर विद्यालय जानुपर्ने बाध्यताको अन्त्य भएकाे छ ।

वर्षाको समयमा पानी परेर चिप्लो भएको भीरको बाटोका साथै बुट्यान र लहरालाई समाउदै भीर पहराको बाटो छिचोलेर विद्यालय आवतजावत गर्न बाध्य भएका यहाँका विद्यार्थीकाे पैदलमार्ग निर्माण भएपछि अन्त्य भएकाे हाे ।

अब भने विद्यार्थीले सजिलो बाटो हिडेर विद्यालय जान र घर फर्किन पाउने भएका छन् । विद्यार्थी र बटुवाहरुको यस्तो बाध्यतालाई मध्यनजर गरी खाम्लाका स्थानीय युवाहरुले श्रमदान गरेर पैदलमार्ग निर्माण गरेपछि विद्यार्थी र बटुवालाई जोखिम मोलेर आवतजावत गर्नुपर्ने बाध्यताकाे अन्त्य भएकाे हाे ।

बर्खाको समयमा विद्यार्थीले जोखिम मोलेर विद्यालय जानुपर्ने बाध्यता भएपछि स्थानीय खाम्ला युवा क्लवको पहलमा चार दिनसम्म श्रमदान गरेर पैदलमार्ग निर्माण तथा मर्मत गरिएको स्थानीय केशरी शर्माले जानकारी दिनुभयाे । शर्माका अनुसार ज्यानकै बाजी राखेर विद्यार्थी दैनिक विद्यालयमा आवतजावत गर्नुपर्ने बाध्यता भएपछि सामूहिक श्रमदान गरी बिहिबार पैदलमार्ग निर्माण तथा मर्मत गरेपछि अहिले विद्यार्थी र बटुवाहरु सजिलो बाटो सुरक्षित तरिकाले आवतजावत गर्न पाएका छन् ।

सम्बन्धित निकाय र स्थानीय जनप्रतिनिधिहरुले पदमार्ग निर्माण तथा मर्मतमा चासो नदेखाएपछि युवा क्लबले आफैंले पदमार्ग निर्माण तथा मर्मत गरी सुरक्षित बनाएपछि बालबालिका र बटुवाहरुलाई सहज भएको छ । लगातार पानी पर्दा दैनिक जसो जोखिम मोलेर कलिला बालबालिकाहरु आवतजावत गर्नुपर्ने बाध्यता रहेको याे पदमार्ग निर्माण र मर्मतका लागि आगामी दिनहरुमा वडा र अन्य निकायबाट नै पहल हुनुपर्ने स्थानीयले माग गरेका छन् ।

दुर्गम मुदीको खाम्ला, खिवाङ, चेचुङ, नाउरा र बगरा क्षेत्रका बालबालिकालाई वर्षेनी विद्यालयसम्म जानसमेत जोखिम मोलेर यात्रा गर्नुपरे पनि सहज रुपमा आवतजावतका लागि दीर्घकालीन ब्यवस्थापन भने हुन सकेको छैन् ।साभार ईमेज खबर

Back to top button