प्रदेश र संघीय निर्वाचनको तयारीमा जुट्न काँग्रेस नेता जोशीको आग्रह

नेपाली काँग्रेसका नेता अर्जुनप्रसाद जोशीले आउँदो मङ्सिर ४ मा हुन लागेको संघ र प्रदेशको निर्वाचनको लागि जुट्न नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ । नेपाली काँग्रेस पैयुँ गाउँपालिकाको आयोजनामा शनिवार पैयूँ गाउँपालिकाको त्रिवेणीमा आयोजना भएको पालिका स्तरीय बृहत भेला तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता जोशीले आगामी निर्वाचनमा काँग्रेसलाई बहुमत दिलाउन अहिलेदेखि नै निर्वाचनमा जुट्नपर्ने बताउनु भयो ।

नेपाली काँग्रेस लोकतान्त्रिक दल भएकाले यसमा आस्थावानहरु धेरै रहेकोले दलभित्र सामान्य मतभेदका कुराहरु आउनु स्वभाविकै भएको बताउँदै नेता जोशीले बिगतका गल्तीहरुलाई विर्षिएर सुधारिएमा काँग्रेसले आउँदो निर्वाचनमा झनै राम्रो नतिजा निकाल्ने उहाँको भनाई छ । ‘काँग्रेस लोकतान्त्रिक पार्टी, यसमा आस्थावान धेरै भएका कारण सानातिना कुरा भइहाल्छन् । वैचारिक वहस हुन पाउनु नै लोकतान्त्रिक तरिका हो,’ नेता जोशीले भन्नुभयोे, ‘विगतका गल्ती विर्सिएर सुधारियौँ भने काँग्रेसले आगामी निर्वाचनमा झनै राम्रो नतिजा ल्याउने छ।’

विगतमा कसैबाट गल्ती भएको भएमा सुधारको सुरुवात आँफैबाट गरेमा उसको विचार र सिद्धान्त कहिल्यै पनि नमर्ने भन्दै उहाँले निर्वाचानमा सफल हुनको लागि जनताको मनमा बसेको उम्मेद्वार आवश्यक रहने बताउनु भयो । जनताको भावना बुझेर काम गर्न सके मात्रै जनताले विश्वास गर्ने भएका कारण समाज र दलको नेतृत्व गर्ने व्यक्तिले व्यक्तिका भन्दा पनि सामाजिक मुद्धा बोकेको हुनुपर्ने जोशीको भनाई छ । वर्तमान सत्तारुढ गठबन्धन लोकतन्त्रको रक्षाको लागि बनेको एकता भएको भन्दै उनले संबिधान, लोकतन्त्र र संघियताको रक्षाको लागि काँग्रेसको नेतृत्व नै आवश्यक रहेको उहाँले बताउनु भयो ।

लोकतन्त्र र संबिधानको रक्षा गर्नको लागि नै अहिलेको गठबन्धन सरकार बनेको बताउँदै नेता जोशीले आउने निर्वाचनमा ईमान्दारीताका साथ गठबन्धनका उम्मेद्वारहरुलाई नै मतदान गर्न नेता तथा कार्यकतालाई अनुरोध गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस पर्वतका निवर्तमान सभापति खिमप्रसाद भुसाल, पैयुँ गाउँपालिकाका निवर्तमान अध्यक्ष एवम् काँग्रेस नेता खगेन्द्रप्रसाद तिवारी, पैयूँ गाउँपालिकाका प्रमुख तोरण मल्ल ठकुरी (राज), नेपाली काँग्रेस प्रदेश सभा ख का सभापति तथा बिहादी गाउँपालिकाका अध्यक्ष परबिन गुरुङ, काँग्रेस नेता एकनारायण न्यौपाने, नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य गुप्तप्रताप सेन लगायत गाउँपालिकाका तथा वडा तहसम्म रहेका कार्यसमितिका सभापति तथा प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो । नेपाली काँग्रेस पैयूँ गाउँपालिकाका सभापति डम्मर कुमार प्रधानको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सचिव रामप्रसाद भुर्तेलले गरेका थिए।गण्डकी संचार

Back to top button