धाइरिङ अपडेट : २२० भोल्टेजको तारमा ११ हजार भोल्टेजको लिकेज

जिल्लाको जलजला गाउँपालिकामा आज विहानै गाउँ घरका अधिकांश घरमा आगलागी भएको छ । घर घरमा रहेका मिटर बक्सहरु जलेका छन् भने गाउँमा १ जनाको मृत्यु भईसकेको छ ।

गाउँका अधिकांश घरका पशु चौपायहरु समेत मरेका छन् । घटना स्थलमा पुगेका जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले घटनाको पुष्टि गर्दै विद्युत लाइनको समस्याका कारण गाउँमा ठूलो क्षति भएको बताए । धारापानी भन्ने गाउँमा विद्युत लाइनमा विहान झण्डै ९ बजेको समयमा भएको गडबडीका कारण गाउँले ठूलो क्षति ब्यहोरेको छ ।

४ जना गम्भिर घाइते भएको अध्यक्ष आचार्यले पुष्टि गरेका छन् । जिल्ला प्रहरी कार्यालयले २ दर्जन घरका मिटर बक्स जलेको पुष्टि गरेको छ । गाउँपालिका अध्यक्षले भने अझै ठूलो मात्रामा घरका मिटर बक्स जलेको घरमा आगलागी भएको बताएका छन् ।

उता, नेपाल विद्युत प्राधिकरण कुश्मा वितरण केन्द्रका प्रमुख शिवनारायण गोशेलीका अनुसार प्रारम्भिक रुपमा २२० भोल्टेज प्रसारण हुनुपर्ने विद्युतको तारमा त्यो भन्दा धेरै भोल्टेज प्रसारण भएको बताएका छन् ।

आज विहानै विद्युत समस्या समाधानका लागि केहि स्थानहरुमा रुख हटाउने काम भएको उनले बताए । रुखहरु हटाउने क्रममा फलामे पोलबाट एलटि लाईनमा विद्युत लिकेज भएको हुनसक्ने उनले अनुमान गरे । कम्पोजिट एल्टीमा लाइन छिरेका कारण विद्युत आपूर्तिमा समस्या भएको हुनसक्ने उनले पूर्वानुमान गरेका छन् । यस्तो घटना जम्पर लुज भएका कारण पनि विद्युत प्रवाहमा समस्या आउने सक्ने उनले बताए । घटनाको यर्थाथ विवरण प्राविधिक जाँच पछि आउनसक्ने भन्दै २२० भोल्जेट प्रवाह हुनपर्ने तारमा ११ हजार भोल्टेजसम्मको लाइन प्रवाह भएको हुनसक्ने उनले अनुमान गरे ।

कार्यालय प्रमुख गोशेलीले प्रारम्भिक रुपमा २२० भोल्टेज भन्दा बढि ४४० भोल्टेजसम्म पनि प्रवाह भएको हुनसक्ने तर कति भोल्टेज प्रवाह भयो यकिन नभएको बताए । अधिकत ११ हजार भोल्टेज मुख्य तारमा भएका कारण त्यो बराबरको भोल्टेज गएको हुनसक्ने अनुमान कार्यालय प्रमुखले गरेका छन् । मुख्य लाइनमा प्रवाह हुने ११ हजार भोल्टेज भएका कारण त्यो बराबरको सवै भोल्टेज प्रवाह भयो या त्यो भन्दा कम भोल्टेज प्रवाह भएको हो प्राविधिक जाँच पछि पत्ता लाग्ने उनले बताए ।

गाउँपालिकाका अध्यक्ष आचार्यले भने ११ हजार भोल्टेज नै प्रवाह भएका कारण ठूलो क्षति पुगेको बताएका छन । गाउँमा एउटा बाख्रा फर्ममा आगो लागेको छ भने ५० बर्षकी सिता केसीले घटनास्थलमा नै मृत्यु भएको छ । घटनाको बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । घाइते भएकाहरुलाई उपचारका लागि अस्पताल पठाइएको अध्यक्ष आचार्यले जानकारी दिए । घाइतेहरुको शरिरका विभिन्न भागमा आगोले डढेको छ । साभार पर्वत न्यूज

Back to top button