४ वर्षीया बालिकाको बलात्कारपछि हत्या, ४ जना पक्राउ

वीरगञ्ज महानगरपालिका–२ छपकैयाँकी ४ वर्षीया बालिका साउन ५ गतेदेखि नै हराइरहेकी थिइन् । बेलुका ७ बजेसम्म घर नआएपछि परिवारले खोजी सुरु गरे । अभिभावकले छरछिमेक, साथीभाइ र आफन्त सबैसँग सोधखोज गरे । तर उनी फेला परिनन् ।

भोलिपल्ट साउन ६ गते शुक्रबार हजुरबुबा मो.मैनुदिन मिया ठकुराईले नातिनी हराएकाले खोजी दिन आग्रह गर्दै प्रहरीमा निवेदन दिए । प्रहरीले खोजी गर्दै थियो ।

छिमेककै अन्दाजी १२ वर्षीय बालकले बालिकाको शव झाडीमा रहेको भनी अभिभावकलाई खबर गरे । साउन ७ गते बिहान वीरगञ्ज–२ छपकैयास्थित खाली जग्गाको झाडीमा विभत्स अवस्थामा बालिका मृत भेटिइन् । अभिभावकहरुले शव उठाएर घरमा ल्याए ।

मैनुदिन भन्छन्, ‘नातिनीको खोजतलास र चिन्ताले राति अबेरसम्म निद्रा परिरहेको थिएन, बिहान म सुतेकै थिएँ, छिमेककै १२ वर्षीय किशोरले नातिनीको शव झाडीमा छ भनेको रहेछ । बुहारीसहित घरका सदस्य सबै दौडदै घटनास्थल पुगेछन् । शव उठाएर ल्याएछन् ।’

घरका सदस्यहरुले शव घरमा ल्याइसकेपछि बिहान ७ बजेतिर मात्रै प्रहरीले शव भेटिएको खबर पाएको थियो । त्यसपछि वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्ल सहितको टोली घटनास्थल अनुसन्धानका लागि पुग्यो ।

जसले शव देखाए उनै शंकाको घेरामा

सोधखोज गर्ने क्रममा बालिकाको शव देखाउने अन्दाजी १२ वर्षीय बालक नै पहिला शंकाको घेरामा परेको प्रहरी निरीक्षक मल्ल बताउँछन् । ‘प्रारम्भिक सोधपुछको क्रममा उसको संलग्नता खुल्यो । उसले आफू बाहेक अन्य ३ जनाको पनि संलग्नता रहेको बतायो,’ उनले भने, ‘जबरजस्ती करणीपछि कर्तव्य गरी मारेको भनी खुल्यो ।’

उनै १२ वर्षीय बालकले दिएको बयानको आधारमा थप तीन जनालाई पक्राउ गरिएको मल्लले बताए । १२ वर्षीय बालक सहित वीरगञ्ज–२ बस्ने १९ वर्षीय जफ्रुदिन भन्ने सलमान खान, वडा नं. १६ नगवा बस्ने १८ वर्षीय सलमान खान वीरगञ्जमै पक्राउ परे भने घटनापछि दिल्ली फरार भएका १७ वर्षीय अभियुक्तलाई पनि प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

आरोपितहरू विरुद्ध जबरजस्ती करणी तथा ज्यान सम्बन्धी कसुरमा साउन ८ गते पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिई अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यो पनि पढ्नुहोस

वीरगञ्जमा २ दिनदेखि हराएकी ४ वर्षीया बालिका मृत भेटिइन्

गम्भीर प्रकृतिको घटना भएकाले त्यसैअनुसार अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिए । ‘अभियुक्तहरु पक्राउ परिसकेका छन्, घटनास्थलको अवलोकन, लाश जाँच मुचुल्का तयार पार्ने, शवको पोष्टमार्टम गर्ने, अभियुक्तहरुको बयान लिने जस्ता अनुसन्धान प्रक्रिया अघि बढीरहेको छ,’ उनले भने, ‘घटनामा संलग्नमध्ये दुई जना नाबालक छन् । दुई जनाले संलग्नता अस्विकार गरेका छन् । पोष्टमार्टम रिपोर्ट आइसकेको छैन । अन्तिम निष्कर्षमा पुग्न थप अनुसन्धान गरिरहेका छौं ।’

साउन ५ गते बेलुकी बालिका आफ्नो साथीहरुसँग घर छेउकै गल्लीमा खेलीरहेकी थिइन् । बालिकालाई अपहरणको शैलीमा एकान्त झाडीमा लगेर पालैपालो जर्बजस्ती करणी गरी हत्या गरेको प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ । अनुसन्धान जारी रहेकाले प्रहरीले थप विवरण सार्वजनिक गर्न चाहिरहेको छैन ।

चार वर्षीया नातिनी माथि भएको जघन्य घटनाले ठकुराई परिवार शोकमा छ । पक्राउ परेकाहरुलाई कडा कानुनी कारबाही सहित सामाजिक दण्ड पनि दिनुपर्ने हजुरबुवा ठकुराई बताउँछन् । उनले भने, ‘आगामी दिनमा यस्ता जघन्य प्रकृतिको घटना कसैकी छोरी, नातिनी माथि हुने होइन, सोच्दा पनि नसोच्ने वातावरण निर्माणमा प्रहरी प्रशासन, सामाजिक संघ संस्था, राजनीतिक दल, नागरिक समाज लगायतका सरोकारवाला लाग्नुपर्छ । कानुनी दण्डसँगै सामाजिक दण्डको पनि व्यवस्था गरिनुपर्छ ।’

उनले आफ्नै परिवारको सदस्यको संलग्नता देखिए पनि अनुसन्धानको दायरामा ल्याउन आग्रह गर्दै निर्दोष नफसुन् भनेर सचेत हुन प्रहरीलाई अनुरोध पनि गरेका छन् ।साभार अनलाईन खबर

Back to top button