पर्वत कुश्मा बजारमा भएको जिप दुर्घटनामा पाँच जना घाइते

जिल्ला सदरमुकाम कुश्मा बजारमा भएको जिप दुर्घटनामा पाँच जना घाइते भएका छन् ।कुश्मा नगरपालिका–५ बडागाउँमा रहेको सशस्त्र प्रहरी बलको गण नजिकैको सडकमा विहान सवा ११ बजे ग १ ज ७८५१ नम्बरको जिप दुर्घटनामा पाँच जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरेले जानकारी दिनुभयो ।

जिल्लाको मोदी गाउँपालिका–५ बाजुङबाट मलामी बोकेर मोदीबेणी घाटतर्फ जाँदै गरेको जिप सडकबाट फुत्किएर नालीमा धसारिएको छ ।दुर्घटनामा परी मोदी गाउँपालिका–५ बाजुङका ३९ वर्षीय झलकराज पौडेल, ४० वर्षीय दलबहादुर मल्ल, ५८ वर्षीय सरिता ठकुरी, ७६ वर्षीय रामबहादुर माझी र ४६ वर्षीय मीना मल्ल घाइते भएका छन् । दुर्घटना परी घाइते भएकाहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

चालक ४० वर्षीय ओमसेन ठकुरी सहितका तीनजना भने सकुशल रहेका छन् । जिपधनीसमेत रहेका ठकुरी आफूहरूको नियन्त्रणमा रहेको र प्रारम्भिक अनुसन्धानको क्रममा ब्रेक फेल भएको हुनसक्ने देखिएको पनि ट्राफिक प्रहरीले जनाएको छ ।

Back to top button