मनपरि भाडा असुलेको गुनासोपछि पर्वतमा नयाँ भाडादर तोकियो

पर्वत – पर्वतमा मनपरि भाडा लिएको गुनासोपछि जिल्लाभित्र चल्ने जीप तथा बसका लागि नयाँ भाडादर तोकिएको छ ।

नयाँ कायम भएको भाडादर अनुसार पर्वतका कच्ची सडकमा यात्रा गर्ने यात्रुका लागि जीपमा प्रतिकिलाेमिटर ११ रुपैयाँ र बसमा प्रतिकिलोमिटर १० रुपैयाँ तोकिएको छ । त्यस्तै कालोपत्रे, ग्राबेल र पक्की सडकमा प्रतिकिलोमिटर जीपमा ९ रुपैयाँ ५० पैसा र बसमा ९ रुपैयाँ कायम गरिएको छ । यसअघि ग्रामीण क्षेत्रमा चल्ने जीपले प्रतिव्यक्ति प्रतिकिलोमिटर २७ रुपैयाँसम्म भाडा लिँदै आएका थिए ।

नयाँ भाडादरलाई यात्रुले देख्नेगरी टाँस्न पनि यातायात व्यवसायीलाई अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालय पर्वतले जनाएको छ । अटो रिक्सामा कुश्मा बजार भित्र प्रतिव्यक्ति ५० रुपैयाँ र फलेवास नगरपालिकाको रुट कायम गरी प्रतिकिलोमिटर १५ रुपैयाँ मात्रै लिन पाउने निर्णय भएको छ ।

Back to top button