नेपाल प्रेस युनियनको महाधिवेशन अन्तर्गत आज मतदान

नेपाल प्रेस युनियनको चुनावी कार्यतालिका अनुसार आज मतदान हुँदैछ । हेटौँडामा हिजोदेखि सुरु भएको महाधिवेशनमा आज बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुनेछ ।

देशभरका ७७ जिल्लाबाट १ हजार ६ सय ५० जना प्रतिनिधिले मतदानमा भाग लिनेछन् । झन्डै ८ वर्षपछि हुन लागेको कांग्रेस निकट प्रेस युनियनको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । महाअधिवेशनले तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

हिजो दुई वटा प्यानलले उम्मेदवारी दर्ता गरेका छन् । नेपाली कांग्रेसको संस्थापन पक्षबाट अनिता बिन्दु र संस्थापन इतर समूहबाट शिव लम्सालको प्यानल छ । यसैगरी अध्यक्षमा भुवन भट्टले पनि उम्मेदवारी दिनुभएको छ ।

प्रेस युनियनको वरिष्ठ उपाध्यक्षमा प्रेम केसी र सरोज अधिकारीले उम्मेदवारी दिनुभएको छ । यसैगरी उपाध्यक्ष खुल्ला दुई वटा पदमा चार जनाको उम्मेदवारी परेको छ । उपाध्यक्ष खुल्लामा राममणि दाहाल, नकुल अर्याल, भिष्मराज ओझा र शेखर रेग्मीले उम्मेदवारी दिनु भएको छ ।

उपाध्यक्ष समावेशी पदमा भने सङ्खुवासभाका दिपेन्द्र वान्तवा निर्विरोध निर्वाचित हुनुभएको छ । यसैगरी ११ जना अरु उपाध्यक्षका लागि दुई प्यानलबाट उम्मेदवारी छ । यसैगरी महासचिव पदमा जगन्नाथ दुलाल र दिलिप पौडेलका बीचमा प्रतिस्पर्धा हुँदैछ । अध्यक्षदेखि सदस्यसम्म दुई प्यानलमा विभाजित भएका छन् । खुल्ला रुपमा उम्मेदवारी दिनेहरु पनि छन् ।

Back to top button