साउने सङ्क्रान्तिमा तिउरी : सौन्दर्य मात्र होइन, औषधीय पनि

काठमाडौं । असार–साउन तिउरीको फूल फुल्ने महिना । साउने स‌ंक्रान्तिको दिन लुतो फालेर रातमा हातमा मेहेन्दी र तिउरी लगाउने चलन छ । यस्तो चलन अहिले मात्र हैन, धेरै लामो समय अघिदेखि चल्दै आएको छ । यसरी हातलाई तिउरी र मेहेन्दीले रंगाउँदा विभिन्न रोगबाट बच्न सकिन्छ भन्ने मान्यता रहिआएको छ ।

यसरी सौन्दर्य साधनको रूपमा प्रयोग हुने तिउरी फूल अन्य प्रयोजनमा पनि प्रयोग हुन्छ । असार महिनामा धान रोपेर हिलोमैलो खेलेर हिलोले खाएका हातमा तिउरीको रस लगाउँदा हिलोले खाएर बनेको घाउलाई निको पार्न सहयोग गर्छ, किनकि यसमा एन्टिब्याक्टेरियल गुण हुन्छ । जसले विभिन्न रोगबाट बचाउनुका साथै हातलाई सुन्दर बनाउन पनि मद्दत गर्छ ।

तिउरी तराईदेखि पहाडको २ हजार मिटरको उचाइसम्म पाइने नेपालका लागि एक स्वदेशी र शोभनीय फूल हो । शोभनीय फूलको रूपमा यो घरघरमा लगाइन्छ । यसको बीउमा (ट्राइरपेनोइड–होसेनकोल एक ग्लैक्टोक्सीलोग्लुकान र बी सिटोस्टेरोल) तथा पातमा अंग्रेजीमा लवसोन भनिने नेप्थोक्वीन्सेन्स नामको रसायन तत्व पाइने र त्यही रसायन तत्वको कारण नै हातमा रातो रंग बस्ने वनस्पति अनुसन्धान केन्द्र, सल्यानका प्रमुख वनस्पति विज्ञ डा. मित्र पाठक बताउँछन् ।

‘यसको फूलले दिने सुन्दरताका कारण यसका केही प्रजातिलाई आफ्नो बगैंचाको शोभा बढाउनको लागि समेत प्रयोग गर्ने गरिन्छ । यद्यपि नेपालमा पाइने वाल्सामिनेसी परिवारका तिउरी जाति (इपप्यासेन्स)का झण्डै ५० प्रजातिमध्ये तिउरी फूल एक प्रजाति हो । तिउरीको रस लगाउँदा यसले हिलोले खाएर बनेको घाउलाई निको पार्न सहयोग गर्ने हुँदा नै खेतीपातीको काम सकिएपछि लुतो फाल्ने चलन जस्तै तिउरी लगाउँदा हातखुट्टाको छाला सम्बन्धी रोग निको हुने विश्वासले नै तिउरी लगाउने चलन चलेको अनुमान डा. पाठकको छ ।

साउन र प्रकृति

साउने संक्रान्तिको दिन लुतो फ्याँक्ने हातमा तिउरी लगाउने प्रचलनको प्रकृति पूजासँग प्रत्यक्ष सम्बन्ध छ । साउने संक्रान्तिको दिन लुतो फ्याँक्न भनेर संकलन गरिने भलायो, कुकुरडाइनो, लुतेझार, पानीसरो, रातोपाते लगायत औषधिजन्य वनस्पतिको प्रयोगले वनस्पतिजन्य उत्पादनको महत्वलाई दर्साउँछ । यी सबै वनस्पति फलफूल जम्मा गरी कण्डारक राक्षसको पूजा गरी अगुल्टो बालेर, डाँडा कटाउँदै लुतो फाल्ने प्रचलनले वर्षात्को संक्रमण र कीटाणुलाई आगो बालेर नष्ट गरिएको वैज्ञानिक आधार पनि मान्न सकिने डा. नम्रता पाण्डे बताउँछिन् ।

‘साउने संक्रान्तिकै दिन पूजा गर्न भनेर संकलन गरिने जोल्टे कागती, निबुवा, अम्बा, अनार, नासपाती लगायत प्रसाद स्वरूपका फलफूल यो दिन पूजा गरेपछि ग्रहण गर्न योग्य मानिन्छ,’ उनी भन्छिन्, ‘कर्कलो, करेला, काँक्रो लगायत हरिया तरकारी यही समयमा बढी प्रयोग हुने हुँदा मौसम अनुसारका वनस्पति, फलफूल र तरकारीको महत्वलाई दर्साउँदै मानिस र प्रकृतिबीचको तादात्म्यतालाई स्मरण गराउँछ ।’

तिउरीको प्राकृतिक उपचार 

साउने संक्रान्तिको दिन रातो तिउरी नामको फूलमा चरीअमिलो र भृङ्गीराज नामक वनस्पति मिसाएर पिसेर मसिनो बनाई हातखुट्टामा लगाउने प्रचलनलाई हिलोले खाएका हातखुट्टाको प्राकृतिक उपचारको रूपमा लिन सकिने पाण्डेको तर्क छ ।

उनी भन्छिन्, तिउरी, चरीअमिलो, मगर काँची, भृङ्गीराज जस्ता वनस्पतिले औषधीय महत्व बोकेका छन् । तिउरी लगाउनु अगाडि हातखुट्टामा तोरीको तेल लगाएर अनि तिउरीलाई मुठीभरि लिएर बाहिरबाट काम्रो बाँध्ने, रातभरिमा यो रातो हुन्छ । एकातिर हातखुट्टा रंग्याउने शृङ्गारको माध्यमबाट सोचे पनि वास्तवमा जेठदेखि सुरु भएर असारभरि रोपाइँले फुटेका र हिलोले खाएका हातखुट्टालाई, घाउ निस्केका भागमा औषधि गर्नु यसको प्रमुख कारण रहेको मान्नुपर्छ । त्यही प्रचलन अहिले साउनमा मेहेन्दी लगाउने नाममा प्रचलित भएको छ ।

तिउरीको प्रयोग गाउँघरमा अझै जीवित भए पनि सहरबजारमा यसको नाम पनि नसुनेका मानिस भेटिन सक्छन् । अहिले सहर बजारमा महिलाले प्रयोग गरिने मेहेन्दीको मर्म पनि यही हो, तर यसले प्राकृतिक एवं आयुर्वेदिक औषधिको महत्वभन्दा पनि फेसनको शृङ्गारमा रूपान्तरण भएको महसुस गर्न सकिन्छ ।

तिउरीको अन्य फाइदा

तिउरी फूलको बिरुवाको विभिन्न भाग जस्तै पातबाट निकालिएको जुस छाला सम्बन्धी रोग, पोलेको ठाउँ र सर्पको टोकाइमा प्रयोग गरिने वनस्पति विज्ञ डा. मित्र पाठक बताउँछन् । कोरियामा तिउरीबाट बनाइएको वोङ्सेन्वा नामको आयुर्वेदिक औषधि कब्जियत र ग्यास्टिक रोगका लागि प्रयोग गरिन्छ ।

फूललाई आगोले पोलेको ठाउँमा लगाउन प्रयोग गरिन्छ, नेपालमा अहिले सल्यानमा तिउरीको अंकुर तथा वृद्धिदर एवं फैलावट सम्बन्धी अध्ययन अनुसन्धान भइरहेको पाठक बताउँछन् ।साभार अनलाईन खबर

Back to top button