देशभर उखरमाउलो गर्मी, पानी नपर्दा तातो र सुख्खा हावा चल्न थाल्यो

काठमाण्डाै – केही दिनदेखि देशभर गर्मी बढेको छ । देशका सबैजसो ठाउँमा अधिकतम तापक्रम बढेको छ भने तातो र सुख्खा हावा चल्न थालेको छ ।

पहाडी क्षेत्रमा फाट्टफुट्ट पानी परेर बिहान बेलुका केही शीतलजस्तो महसुस भए पनि तराईका जिल्लामा केही दिन यता पानी नपर्दा गर्मी बढेर जनजीवन प्रभावित बनेको छ । काठमाण्डौसहित पहाडी क्षेत्रमा पनि दिउँसोको समयमा टण्टलापुर घाम चर्किँदा जनजीवन प्रभावित भएको छ । केहि दिनको लागि मनसुन रोकिएर न्यूनचापीय रेखा नेपालबाट टाढा भएकाले धेरै गर्मी महसुस भएको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार न्यूनचापीय रेखाको प्रभाव पर्न थालेपछि फेरि केही शीतल महसुस हुन थाल्छ । अहिले झरी पर्नु पर्ने समय भए पनि फाट्टफुट्ट र क्षणिक बाहेक पानी परेको छैन । अझै केही दिन मौसम बद्ली भएर लगातार पानी पर्ने सम्भावना नभएको उहाँको भनाई छ । तराईका कतिपय ठाउँमा अधिकतम तापक्रम ३५ देखि ४० डिग्री सेल्सियससम्म पुगेको छ ।

आज नेपालगञ्जको अधिकतम तापक्रम ३७ डिग्री सेल्सियससम्म पुगेको छ । यस्तै धनगढीको ३७ दशमलव २, भैरहवाको ३७ दशमलव ८, काठमाण्डौको ३०, जनकपुरको ३५ र विराटनगरको ३४ दशमलव ८ डिग्री सेल्सियस छ ।  गर्मीका कारण तराईका विद्यालयहरुमा पठनपाठन प्रभावित भएका छन् ।   दिउँसाे बजार सुनसान हुन थालेका छन् । सरकारी कार्यालयमा पनि सेवाग्राहीको सख्या घट्न थालेको छ ।

Back to top button