जलजला गाउँपालिकाले थाल्यो शैक्षिक सुधारका लागि छलफल

पर्वत । जलजला गाउँपालिकाले सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सरोकारवाला सँग छलफल थालेको छ । गुणस्तरीय एवं प्रभाबकारी शिक्षाको लागि शैक्षिक सुधार कार्यक्रम अन्तर्गत जनप्रतिनिधी, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक, अभिभावक र विद्यार्थीसँग छलफल तथा अन्तक्रिया कार्यक्रम आयोजना गरेको हो । जलजला गाउँपालिकाले पहिलो चरणमा १ देखि ६ नम्वर वडा भित्र संचालित सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सरोकारवालाहरुसँग छलफल तथा अन्तक्रिया कार्यक्रम गरेको जनाएको छ ।

सो अवसरमा सहभागिहरुले शिक्षकहरुले सामुदायिक र नीजी विद्यालय बिचको विभेद अन्त्य गर्नुपर्ने, क्षमता र पुर्वाधार भएका विद्यालयहरुलाई प्राविधिक शिक्षा संचालन गर्नदिनुपर्ने, आवश्यकताका आधारमा शिक्षक दरबन्दी र विद्यालय मिलान गर्नुपर्ने, गाउँसुधार कार्यक्रम नीतिगतमा रुपमा ल्याउनु पर्ने, शैक्षिक सुधार र उपलब्धीका लागि नमुना विद्यालयहरुको शैक्षिक भ्रमणको व्यवस्था गर्नुपर्ने लगाएतका मागहरु राखेको थिए ।

कार्यक्रममा बोल्दै जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले शिक्षाको विकास भए मात्र अन्य क्षेत्रको विकास हुने भएकाले शिक्षालाई गुणस्तर बनाउन आफूहरु प्रयासमा जुटीरहेको बताउनु भयो । उहाँले विश्व बजारमा प्रतिस्पर्धामा उत्रिन सक्षम जनशक्ति उत्पादनका लागि पालिकाले सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन गर्ने अवधारणा अघि सारिएको बताउनुभयो । उहाँले शैक्षिक गुणस्तर सुधारका लागि पालिकाले कुनै कसर बाँकी नराख्ने बताउनुभयो । अध्यष आचार्यले कुनै पनि बहानामा विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने शिक्षकलाई कडा कारबाही र जिम्मेवार भई उत्कृष्ट कार्यसम्पादन गर्ने शिक्षकलाई सम्मान गरिने बताउनु भयो । उहाँले अबको शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई राज्यको अर्थतन्त्रसँग जोडिनुपर्ने बताउँदै बजारमा बिक्री हुने खालको शिक्षाको जरुरी रहेको औँल्याउनु भयो ।

जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले शैक्षिक गुणस्तरीयताका लागि त्रिपक्षीय समन्वय आवश्यक रहेकामा जोड दिनुभयो । उपाध्यक्ष आचार्यले गुणस्तरीय शिक्षाका लागि शिक्षक एक्लैले मात्र नसक्ने भएकाले शिक्षक, विद्यार्थी र अभिभावकबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनु भयो । उहाँले समुदायमा शिक्षाप्रति अझै दायित्व बोध नहुँदा शैक्षिक गुणस्तर कमजोर भएको उल्लेख गर्दै उहाँले अझै पनि विद्यालय व्यवस्थापन समिति राजनीति गर्ने थलोका रुपमा बुझ्दा शिक्षाको विकास कमजोर भएको बताउनु भयो ।

Back to top button