भानुभक्तको योगदानबारे नयाँ पुस्तालाई जानकारी दिनु आवश्यक : प्रधानमन्त्री देउवा

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय विभूतिहरूको अध्ययन, अनुसन्धान र प्रकाशनका लागि सरकार सकारात्मक रहेको बताउनुभएको छ ।

आज बुधवार काठमाण्डैमा आयोजित २०९ औँ भानु जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले राष्ट्रिय विभूतिहरूको अध्ययन र अनुसन्धान गर्न सरकार सहयोगका लागि सकारात्मक रहेको बताउनुभएको हो । उहाँले राष्ट्रिय विभूति भानुभक्तको योगदानको बारेमा नयाँ पुस्तालाई जानकारी दिनु आवश्यक रहेको बताउनुभयो । प्रधानमन्त्री देउवाले आदिकवि भानुभक्त आचार्यलाई श्रद्धापूर्वक सम्मान गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आफ्ना कृतिहरूका माध्यमबाट नेपाली समाजलाई सत्य, दया, अहिंसा, न्याय, शान्ति र परोपकारका मार्गमा लाग्न प्रेरित गर्ने भानुभक्त नेपाली भाषाका आदिकवि मात्र नभएर सामाजिक र सांस्कृतिक जागरणका एक सशक्त धरोहरसमेत हुनुहुन्छ । यस्ता राष्ट्रिय विभूति भानुभक्तको जन्मजयन्ती मनाउनु, उहाँको जीवनी र योगदानको चर्चा गर्नु, नयाँ पुस्तालाई उहाँको योगदानका बारेमा जानकारी दिनु र उहाँलाई श्रद्धापूर्वक सम्मान गर्नु हामी सबैको साझा दायित्व हो । राष्ट्रिय विभूतिहरूको विषयमा गरिने अध्ययन, अनुसन्धान, गोष्ठी, कार्यशाला प्रकाशन आदिका लागि सरकार आवश्यक सहयोग गर्न सकारात्मक रहेको छ ।’

प्रधानमन्त्री देउवाले आदिकवि भानुभक्तले आफ्ना साहित्यिक रचनामार्फत मेचीदेखि महाकालीसम्मको नेपाललाई एउटै भाषिकरूपमा आबद्ध गरी नेपालको राष्ट्रिय एकता थप बलियाे बनाउन योगदान पुर्‍याउनुभएकाे बताउनुभयो ।

प्रधानमन्त्री देउवाले नेपाल प्रज्ञा प्रतिष्ठान प्राङ्गणमा रहेको आदिकवि भानुभक्त आचार्यको शालिकमा माल्यार्पण गर्नुभएको थियो । भानुभक्तको जन्म जयन्तीको अवसरमा प्रज्ञा प्रतिष्ठानले प्रभतफेरी कार्यक्रमसमेत गरेको थियो । साभार उज्यालो अनलाईन

Back to top button