कुश्मामा निर्माणाधिन अमृत स्मृति पार्कका लागि छुटिएको बजेटले पुल मर्मत गरिने

पर्वत । पर्वतको मोदीखोलामा जिर्ण अवस्थामा रहेको मोटरेवल पुल मर्मतका लागि अमृत स्मृति प्रतिष्ठानले जिम्मेवारी लिने घोषणा गरेको छ । प्रतिष्ठानका प्रमुख संरक्षक अर्जुनप्रसाद जोशीले पुलको नाजुक अवस्थाको बारेमा ध्यानाकर्षण भएको भन्दै सरकारी निकायको सहयोग र अमृत स्मृति प्रतिष्ठानको तर्फबाट आवश्यक सहयोग गरि पुलको मर्मत गरिने घोषणा गर्नुभएको हो ।

गण्डकी प्रदेश सरकारले नेताका वुवाआमाका नाममा गठित स्मृति प्रतिष्ठान र ट्रष्टलाई बजेट बिनियोजन गरेको तर पुललाई बजेट नदिएको विषयमा टिकाटिप्पणी आएपछि अमृत स्मृति प्रतिष्ठानका संरक्षक तथा पर्वतका पूर्व साँसद अर्जुनप्रसाद जोशीले सरकारले दिने घोषणा गरेको २० लाख रुपैयाँ पुल मर्मतमा खर्चिने घोषणा गर्नुभएको हो ।

उक्त पुलको मर्मतका लागि जोशीले सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ संग पनि कुराकानी गरेर श्रेष्ठको ट्रष्टलाई बिनियोजित ५० लाख पनि यही पुलमा लगानी गर्न मन्जुर भएको जानकारी दिनुभएको छ । जोशीले भन्नुभएको छ,‘ उक्त पूलकोबारेमा मैले हिजो(शनिबार) दिनभर र आज बिहान भरी बुझ्ने प्रयत्न गर्दा उक्त पूलको मर्मतको लागि टेन्डर भएको तर श्रोत सुनिश्चित नभएको जानकारी भयो । लगत्तै सामाजिक बिकास मन्त्री मेखलाल श्रेष्ठ सङ्ग कुरा गरें उहांले आफ्नो ट्रस्टको लागि बिनियोजित रकम मध्यबाट ५० लाख यस्तो कार्यमा लगाउन मन्जुर गर्नु भएको छ ।

यस बिषयमा मुख्य मन्त्री संग पनि कुरा भएको छ र जिल्ला पूर्बाधार प्रमूख संग यसै आर्थिक वर्षमा जसरी पनि श्रोतको ब्यबस्था गरेर टेन्डर खोल्ने कुरा भएकोछ ।’ अहिले नै पूलमा धेरै जोखिम भएको हुुँदा तत्कालै जोखिम युक्त पाताहरु झिकेर नंया पाता राख्नको लागि कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशी र वडाध्यक्षहरु संग पनि कुरा भएको जोशीले उल्लेख गर्नुभएको छ । एक हप्ता भित्रै पुल मर्मतको काम शुरु हुने जोशीले विश्वास व्यक्त गर्नुभएको छ ।

सबै निकायमा सहयोगका लागि आग्रह गर्ने र यदि सम्बन्धित निकायबाट हुन सकेन भने अमृत जोशी स्मृति प्रतिष्ठानको तर्फबाट जोखिमयुक्त पाता झिकेर नयाँ पाता आफ्नै खर्चमा राख्ने पनि जोशीले प्रतिबद्धता जनाउनुभएको छ । कुश्मा नगरपालिका ८ र ११ को बिचमा रहेको यो पुल जिर्ण हुँदै गएको छ । कुश्मा नगरपालिका र पूर्वाधार विकास कार्यालयले मर्मत गर्दै आएको पुल भारी क्षमताका ट्रक, टिप्पर र डोजर हिडाउँदा पटकपटक बिग्रिँदै आएको छ ।

Back to top button