पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनी जोड्ने मालढुङ्गा–बेनी सडक अवरुद्ध

कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनी जोड्ने मालढुङ्गा–बेनी सडक गए रातिदेखि अवरुद्ध बनेको छ । हिजाे बेलुकादेखि निरन्तर परिरहेको वर्षाका कारण सडक माथिको भिरबाट पहिरो खस्दा यातायात सेवा बन्द भएको हो ।

पर्वतको कुश्मा नगरपालिका–१ काे मालढुङ्गा नजिकै ठूलो पहिरो खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले जनाएको छ । अवरुद्ध सडक खुलाउन डोजर र टिपर तयारी अवस्थामा राखे पनि वर्षा नरोकिएकाले समस्या भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो । वर्षा रोकिएलगत्तै सडक खुलाउन पहल गरिने उहाँको भनाइ छ ।

सडक बन्द हुँदा म्याग्दी र मुस्ताङबाट छुटेका गाडी खनियाँघाटमा अलपत्र परेका छन् भने अन्यत्रबाट ती जिल्लाका लागि आएका गाडी मालढुङ्गामा रोकिएका छन् । कतिपय गाडी बाग्लुङ हुँदै वैकल्पिक मार्गको प्रयोग गरेर आवतजावत गरेका छन् । निर्माणाधीन याे सडक वर्षाका कारण पछिल्लो दुई हप्तादेखि निरन्तर अवरुद्ध हुँदै आएको छ ।

Back to top button