मध्यपहाडी लोकमार्गको पर्वत छेउखण्डमा बृक्षारोपण गर्न थालियो

पर्वत । मध्यपहाडी लोकमार्गको छेउखण्डमा बृक्षारोपण गर्न थालिएको छ । बन डिभिजन कार्यालय पर्वतको आयोजनामा बृक्षारोपण गर्न थालिएको हो । बन डिभिजन कार्यालयले शहर उन्मुख क्षेत्र र सडकको वरपरको वातावरण हरियाली बनाउने कार्यक्रम अन्तरगत बृक्षारोपण गर्ने अभियान थालिएको जनाएको छ ।

कुश्मा नगरपालिका ८ चुवामा आज बिरुवा रोपेर अभियानको शुरुवात गरिएको हो । कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीले बिरुवा रोपण कार्यक्रमको शुरुवात गर्दै वाताबरण संरक्षण संगै हरियाली प्रबर्दन गर्न कार्यक्रम फलदायी हुने बताउनुभयो । उहाँले बिरुवा रोपेर मात्रै कर्तव्य पुरा नहुने भन्दै बिरुवा संरक्षणमा ध्यान दिन आग्रह गर्नुभयो । उहाँले कुश्मा नगरपालिकाले जलवायू परिवर्तनको असर कम गर्ने र हरियाली कुश्मा बनाउने सोच बनाएको पनि बताउनुभयो ।

कुश्मा नगरपालिका ८ चुवाका वडाध्यक्ष सुरेन्द्र केसीका अनुसार मध्यपहाडी लोकमार्गको छेउमा १५० बिरुवा रोपिने छ । विरुवा संरक्षणका लागि बारबेर गरिएको छ भने नियमित रेखदेख हुने केसीले बताउनुभयो । केसीले बृक्षारोपणमा स्थानीय उपभोक्ता समिति गठन गरेर काम अगाडी बढाईएको जानकारी दिनुभयो । कार्यक्रममा बन डिभिजन कार्यालयका प्रमुख विष्णुप्रसाद अधिकारीले बन कार्यालयले बृक्षारोपण विशेष अभियान सञ्चालन गरेको बताउनुभयो ।

शहर उन्मुख क्षेत्र र राजमार्ग बिस्तार गरिएको क्षेत्रमा बृक्षारोपण गर्ने सरकारको घोषित कार्यक्रम अनुसार बृक्षारोपण गरिएको अधिकारीले बताउनुभयो ।

Back to top button