म बाँचुन्जेल केरुङबाट काठमाण्डाै रेल आउँछ जस्तो लाग्दैन : विश्वप्रकाश शर्मा

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालले केरुङ–काठमाण्डाै रेल मार्ग निर्माण गर्न नसक्ने दाबी गर्नुभएको छ । आज बुधवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले नेपालले केरुङ–काठमाण्डाै रेल मार्ग निर्माण गर्न नसक्ने दाबी गर्नुभएको हो । उहाँले नुवाकोट र रसुवाका नागरिकलाई सरकारले यो बनाउन सक्दैन भन्ने कुराको यथार्थता भन्नुपर्ने बताउनुभयो । महामन्त्री शर्माले नेपालले छिमेकी देश चीन र भारतलाई नेपालले केरुङ–काठमाण्डाै रेल मार्ग निर्माण गर्न नसक्ने तर लिजमा बाटो दिने र उपहार प्रोजेक्ट लिन चाहने प्रस्ताव राख्नुपर्ने बताउनुभयो । नेपाल गरिब देश भएकोले दुवै देशको व्यापारका लागि बाटो भाडामा उपलब्ध गराउने कुरा चीन र भारतलाई भन्नुपर्ने उहाँकाे भनाइ छ ।

उहाँले भन्नुभयो, ‘विश्वप्रकाश शर्मा बाँचुन्जेल केरुङबाट काठमाण्डाै रेल आउँछ जस्तो लाग्दैन । हामीले नुवाकोट र रसुवाका नागरिकलाई सरकारले यो बनाउन सक्दैन भन्नुपर्छ । आउनुपर्छ त्यो तर नेपालले प्रष्ट भन्नुपर्छ, हामी सक्दैनौँ, तिमीहरू व्यापार गर, लिज बाटो दिन्छौँ । हामी गरिब देश हाैँ, तिमीहरूको एउटा गिफ्ट प्रोजेक्ट लिन चाहन्छौँ भन्न भारत र चीनलाई सक्नुपर्छ ।’

महामन्त्री शर्माले नेपालले आफ्नो ढुकुटीको पैसा लगानी गरेर सहुलियत ऋणमा मेची–महाकाली रेल बनाउन सक्नेतर्फ भने ध्यान दिनुपर्ने बताउनुभयो । अहिले केरुङ–काठमाण्डाै रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन गरिरहेको भए पनि रेल कहाँबाट ल्याउने र सक्छौँ/सक्दैनौँ भन्ने आधार नै नरहेको उहाँकाे भनाइ छ । उहाँले एउटै अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थित गर्न नसकेको भन्दै एउटाबाट दोस्रोमा जानुपर्ने बेलामा एकै पटक चार वटामा प्रवेश गर्नु गलत भएको बताउनुभयो ।

फरक प्रसङ्गमा महामन्त्री शर्माले गलत सूचनाको असर एमसीसीमा परेको बताउनुभयो । प्रतिवेदन बनाउन मन्त्रिमण्डलमा बस्ने, छलफल, संवाद गर्नेहरूले दिएको गलत सूचनाका कारण पनि जनताहरू भड्किरहेकोले गलत सूचना प्रसारण गर्न नहुने उहाँकाे भनाइ छ । खबर उज्यालो अनलाईन

Back to top button