सुनसरीमा १ हजार घर डुवानमा, १५० घर विस्थापित

सुनसरी । सुनसरीमा लगातारको वर्षातका कारण १ हजार घर डुवानमा परेका छन् ।साथै १ सय ५० घर विस्थापित भएका छन् । वर्षातका कारण पानीको निकास नभएको र खोलाको बाढी बस्तीमा छिरेपछि सुनसरीको पूर्वपश्चिम राजमार्ग दक्षिणको अधिकांश बस्ती डुवानमा परेको हाे । तीनदिनदेखिको वर्षातका कारण सुनसरीको भोक्राहा नरसिंह गाँउपालिका, कोशी गाँउपालिका, इटहरी उपमहानगरपालिका, दुहबी नगरपालिका, हरिनगरा गाँउपालिका, बर्जु गाँउपालिकाका दर्जनौ बस्तीहरु डुवानमा परेका छन् ।

भोक्राहा नर्सिङ गाँउपालिकाको ५ र ७ वडाका ७० घर परिवार बाढीका कारण विस्थापित भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभएकाे छ। उहाँका अनुसार बर्जुको ५ नम्बर वडा, दुहबीको १२ नम्बर वडा, कोशीको २ नम्बर वडा, इनरुवाको ४-६ र ८ नम्बर वडा डुवानमा परेको छ ।

सुनसरीका सबै स्थानमा गरि १ हजार घर डुवानमा परेको अनुमान गरिएको छ । वर्षात नरोकिएका कारण एकिन डाटा संकलनमा समस्या भएको प्रमुख जिल्ला अधिकारी यादवले बताएका छन् । बर्जु र भोक्राहा लगायतका स्थानका बाढीबाट विस्थापित १ सय ५० घर परिवारलाई नजिकैको विद्यालय र सार्वजनिक स्थानमा लगि सकिएको उहाँले बताउनुभएकाे छ।

वर्षातका कारण हरिनगरा गाँउपालिकाको शसस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (विओपी) डुवानमा परेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक विक्रम हुमागाईले बताउनुभएकाे छ। सुरक्षा कार्यालय नै डुवानमा परेपछि यहाँ कार्यरत सशस्त्र प्रहरी विचलित भएका छन् ।

बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ । वर्षात नरोकिएकाले घरबाट बाहिर ननिस्कन र सुरक्षित रहन स्थानीय प्रशासनले सुनसरीका बासीन्दालाई आग्रह गरेको छ ।साभार ईमेज खबर

Back to top button