केराबाटै आत्मनिर्भर म्याग्दीका दुई गाउँ

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका खबरा र बगरफाँटामा विस्तार गरिएको केरा खेतीबाट किसानहरूले मनग्गे आम्दानी गर्न थालेका छन् ।खबराका १ सय ६० घरधुरी र बगरफाँटका १८ घरधुरी व्यवसायीक केराखेतीमा संलग्न छन् । उनीहरूले केरा खेतीबाट वार्षिक डेढ करोड रुपैया बढी आम्दानी गर्न थालेका छन् ।

खबराका किसानहरुले केरा खेतीबाट वार्षिक रुपमा एक करोड रुपैयाँ गाउँमा भित्र्याउने गरेका छन् भने बगरफाँटका किसानले पनि वार्षिक ५० लाख रुपैयाँको हाराहारीमा केरा विक्रि गर्ने गरेका छन् । यी दुई गाउँ पछिल्लो समय केरा गाउँको रुपमा चिनिन थालेका छन् ।व्यापारीहरू घर घरमा आएर केरा खरिद गर्ने गरेका बगरफाँटका कृषक खीमबहादुर कार्कीले बताउनुभयो । खबराका किसानले विगत १२ वर्षदेखि व्यवसायिक रुपमा केरा खेती गर्दै आएका हुन । केरा खेतीबाट राम्रो आम्दानी हुन थालेपछि अहिले गाँउ नै केरा खेतीले ढाकेको छ ।

खबरामा केरी खेतीको सुरुवात २० वर्ष अघि मानबहादुर थापा र चन्द्रबहादुर कार्कीले गर्नुभएको स्थानीयवासिन्दाहरुले बताएका छन् । थापा र कार्कीले सुरु गरेको केरा खेतीले अहिले गाउँनै ढाकेको स्थानीय तेजेन्द्रबहादुर कार्कीले बताउनुभयो ।

स्थानीय शोभित सापकोटाले विगत १० वर्षदेखि व्यवसायिक रुपमा केरा खेती गरेर गाउँमा नै पक्की घर समेत बनाउनुभएको छ । करिब १६ रोपनी जमिनमा लगाएको केराबाट वार्षिक रुपमा १० लाख रुपैयाँ भन्दा बढी आम्दानी हुनेगरेको उहाँ बताउनुहुन्छ । परम्परागत खाद्यबालीको विकल्पमा खेतबारीमा व्यवसायिक केरा खेती गर्न थालेपछि खबरावासीको आर्थिक अवस्थामा निकै सुधार आएको कृषक सापकोटाले बताउनुभयो ।

खेतबारी, पाखा, कान्ला र खोल्साहरू सबैतिर केरा खेतीले ढाकेको छ । यहाँका प्रत्येक घरधुरीले व्यवासायिक रुपमा हजारी जातको केराको खेती गर्ने गरेकाछन् ।साभार ईमेज खबर

Back to top button