स्वास्थ्य बीमा कार्यक्रम धमाधम बन्द गर्दै ठूला अस्पताल : सेवाग्राही मर्कामा

काठमाण्डाै – ठूला अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम धमाधम बन्द गर्न थालेका छन् । स्वास्थ्य बीमा बोर्डले उपचारबापत रकम उपलब्ध नगराएको भन्दै अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता नदिने जनाएका छन् ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, बीएण्डसी मेडिकल कलेज झापा र नोबेल मेडिकल कलेज विराटनगर, धुलिखेल अस्पतालले बोर्डले नै स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्ने जनाएको बताएका छन् । वीर र पाटन अस्पताल र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले पनि भुक्तानी पाएका छैनन् ।

सरकारले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका बिरामीलाई उपचार गरेबापत ४५ करोड रुपैयाँभन्दा बढी रकम दिन बाँकी रहेको बीएण्डसीले जनाएको छ । बीमाबापतको रकम भुक्तानी नगरे बीएण्डसीले असार २० गतेदेखि सेवा बन्द गर्ने भएको छ ।

यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका कार्यकारी निर्देशक डा. दिनेश काफ्लेले सरकारको स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमबापतको रकम उपलब्ध नगराएकाले असार १५ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्न लागेको बताउनुभएको छ ।

शिक्षण अस्पतालले २०७७ साल मङ्सिरदेखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्दै आइरहेको थियो । त्यसैगरी नोबेल मेडिकल कलेजका व्यवस्थापक सदस्य भीमबहादुर चन्दले पनि मङ्सिरदेखि बीमितको उपचारमा गरेको रकम पाउन नसकेको बताउनुभएको छ । उहाँले बोर्डबाट रकम भुक्तानी नपाउँदा कर्मचारीलाई तलब खुवाउन समस्यामा परेको बताउनुभयो । बोर्डले नोबेललाई ५४ करोड ३८ लाख रुपैयाँ बीमितको उपचार गरेबापत दिन बाँकी रहेको चन्दको भनाइ छ ।

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले ऐन, नियम र कार्यविधिअनुसार अस्पताललाई बीमाबापतको रकम उपलब्ध गराउँदै आएको दाबी गर्नुभएको छ । ‘अस्पतालले माग्दैमा हामीले पैसा दिने होइन । नियम कानुन र कार्यविधिअनुसार बीमितको उपचारबापतको रकम दिने हो’ उहाँले भन्नुभयो,‘अस्पतालले पठाएको प्रमाणमाथि हामीले रुजु गर्ने काम गरिरहेका छौँ । नियमअनुसार रुजु भएका अस्पतालको रकम हामीले रोक्दैनौँ ।’ उहाँले अस्पतालले नियमअनुसारको प्रमाण उपलब्ध नगराउँदा भुक्तानीमा समस्या परेको बताउनुभयो ।

उहाँका अनुसार गएको साउनयता ८ अर्ब १३ करोड अस्पताललाई उपलब्ध भएको छ । यस्तै जेठयता ६ अर्ब अस्पताललाई दिन बाँकी रहेको उहाँको भनाइ छ । बोर्डले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्नका लागि ४ सय ५० अस्पतालसँग सम्झौता गरेको छ । अहिले पनि बीमितले सहज सेवा पाउन सकेका छैनन् ।

सरकारले पाँच वर्षअघि नागरिकलाई सहजरूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित कैलाली जिल्लाबाट ‘स्वास्थ्य बीमा कार्यक्रम’ सुरू गरेको थियो । एउटा परिवारले ३ हजार ५ सयको स्वास्थ्य बीमा गरेपछि परिवारको पाँच जना सदस्यले अस्पतालमा एक लाख रुपैयाँ बराबरको उपचार सेवा लिन पाउने व्यवस्था रहेको छ । अहिले देशभरका ७७ जिल्लामा ५७ लाख मानिस बीमा कार्यक्रममा सहभागी भएका छन् । साभार उज्यालो अनलाईन

Back to top button