सञ्चारकर्मबाट राजनीतिमा होमिए रवि

काठमाडौं । स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने आशंकाकाबीच सञ्चारकर्म छोडेर राजनीतीमा आएका रवि लामिछानेले आफ्नै नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गर्नुभएको छ ।

चुनाव चिन्ह घण्टी हुने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणासभामा लामिछानेको समर्थनमा ठूलो सङ्ख्यामा नागरिकको उपस्थिति थियो । टेलिभिजन कार्यक्रम मार्फत आम नागरिकका विषय उठान गरेर लोकप्रिय बन्नुभएका लामिछानेले केही दिन अघि मात्र राजनीतिमा प्रवेश गर्ने भन्दै सञ्चारकर्मबाट अलग हुनुभयो ।

स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने चर्चाका बीच उहाँले मंगलबार आफ्नै नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गर्दा विभिन्न पेशामा आवद्ध मानिसको भिड देखिन्थ्यो । कार्यक्रमलाई व्यवस्थापन गर्नका लागि पाँच सय स्वयंसेवक परिचालन गरिए पनि भिड नियन्त्रण गर्न हम्मे–हम्मे परेको थियो ।

२१ सदस्य रहने लामिछानेको पार्टीको केन्द्रीय कार्यालय बसुन्धरामा रहने बताइएको छ । चुनाव चिन्ह ‘घण्टी’ प्रस्ताव गरिएको स्वतन्त्र पार्टीको नेतृत्वमा युवाको बाहुल्यता रहने उल्लेख छ ।

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको एजेण्डासहित चुनावमा होमिने पार्टीमा ‘राइट टु रिकल एन्ड राइट टु रिजेक्ट’ को व्यवस्था, डिजिटल डेमोक्रेसीको अभ्यास, पार्टीमा परिवारवाद निषेध गर्ने तथा पार्टीलाई भ्रातृ संगठन र कार्यकर्तारहित बनाउने घोषणा गरिएको छ ।

टेलिभिजनमार्फत सामान्य नागरिकका विषयलाई सम्बोधन गरेर आम नागरिकको आँखामा लोकप्रिय बनेका लामिछाने राजनीतिमा प्रवेश गर्दैगर्दा कार्यक्रममा उपस्थित भएकाहरूको मुहारमा अहिलेका राजनीतिक दलप्रतिको वितृष्णा छर्लङ्ग देखिन्थ्यो ।

पछिल्लो समय पेचिलो वहसको विषय बनेको संघीयता, धर्मनिरपेक्षता, राजतन्त्र र गणतन्त्रबारे केही पनि उल्लेख नगरिएको लामिछाने नेतृत्वको पार्टीले आउँदो निर्वाचनमा सहभागिताको विषयलाई पनि स्पष्ट पारेको छैन ।

स्वतन्त्र व्यक्तिलाई आफ्नो दलबाट निर्वाचनमा होमिन आग्रह गरेको लामिछाने नेतृत्वको पार्टीको संगठनात्मक संरचना कस्तो हुने भन्ने केही उल्लेख छैन ।साभार ईमेज खबर

Back to top button