मालढुङ्गा–बेनी सडक स्तरउन्नतीका लागि आजदेखि दैनिक चार घण्टा बन्द हुने

हिमालपारीको जिल्ला मुस्ताङ र म्याग्दीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक दैनिक चार घण्टा बन्द हुने भएको छ । स्तरोन्नती भैरहेको मालढुङ्गा–बेनी सडक चौडा गर्न चट्टान काट्नपर्ने भएकाले दैनिक चार घण्टा बन्द गर्न लागिएको कालीगण्डकी करिडोर बेनी जोमसोम कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतीले जानकारी दिनुभयो ।

निर्माणको कामलाई सहज रुपमा गति दिन  असार ३ गतेदेखि असार ३२ गतेसम्म दैनिक चार घण्टा सवारी आवत जावत बन्द गर्ने निर्णय गरेको हो । आयोजना कार्यालयले बुधवार सूचना जारी गर्दै असार ३२ गतेसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजे सम्म मालढुङ्गा–बेनी सडकमा यातायात बन्द गर्ने निर्णय भएको जानकारी दिएको छ ।

सवारी साधनको चापले सडक बिस्तारको काम प्रभाबित बनेपछि बेनी–जोमसोम–कोरला सडक आयोजनाले प्रशासनको अनुमतीमा सडक बन्द गर्ने सूचना जारी गरेको हो । १३ किलोमिटर दुरिको सडक स्तरोन्नती र कलोपत्रेको काम भैरहेको छ । सवारी आवत जावत बन्द गरिएको अवधिमा सवारी साधनको डाइभर्सन र ब्यवस्थापनका लागि सुरक्षा निकाय तथा सहजिकरणका लागि म्याग्दी, मुस्ताङ, बागलुङ र कास्की जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिने भएको छ ।

एम्बुलेन्स र बिरामी बोकेका सवारी साधन तथा बिकास निर्माणका अत्यावश्यक सवारी साधन सञ्चालनमा भने सहजिकरण गरिने भएको छ । मालढुङ्गा–बेनी सडक बन्द भएको समयमा बागलुङ–रत्नेचौर–बेनी हुदै मालढुङ्गा जोड्ने बैकल्पिक सडक प्रयोग गर्न सकिन्छ । एपेक्स–खड्का कृष्ण जेभीको सहायक ठेकेदार कम्पनी ओमकारेश्वरका सञ्चालक अमृत दाहालले हिउँदको अनुकुल मौसम भएको समयमा सडक निर्माणलाई तिब्रता दिन सवारी साधन रोकेर काम गर्न समय मागिएको बताउनुभयो ।

नयाँ वर्ष, चैते दशै लगायतका पर्वका कारण हिमालपारीको जिल्ला जाने सवारीसाधनको अत्याधिक चाप बढेकाले वैशाख ३ गतेदेखि मात्रै सडक बन्द गरेर काम गर्न लागिएको हो । कुश्मा नगरपालिका–१ मा पर्ने मालढुङ्गा देखि जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नम्बर वडा हुदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने १३ किलोमिटर सडक बिस्तार, सुधार गरि दुई लेनको बनाउन लागिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ ।

मालढुङ्गा–बेनी सडक चिन र भारत जोड्ने नेपालको सबैभन्दा छोटो सडक कालीगण्डकी कोरीडोर अन्तरगत पर्छ । २०७७ चैतमा रु. ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले बिभिन्न खण्डमा मजदुर र उपकरण परिचालन गरेर सडक बिस्तार, पर्खाल र नाली निर्माणको काम गरिरहेको छ । हाल पिच सहित करिब ६ मिटरको हाराहारीमा रहेको सडकलाई ९ मिटर चाक्लो बनाएर एक मिटरको नाली र दुई लेनमा ८ मिटर चौडाइका दरले अमेरिकी आक्सपाल्ट प्रबिधीको कालोपत्रे गर्न लागिएको हो । बि.स. २०४८ ‘कामका लागि खाद्यान्न’ कार्यक्रम अन्तरगत शुरु गरेर २०५२ मा मार्ग खुलेको र २०६८ मा कालोपत्रे भएको मालढुङ्गा–बेनी सडक पछिल्लो समय जिर्ण अवस्थामा थियो । सहायक सडक र पाखोबाट खस्ने पहिरो तथा खोलामा आउने बाढीले सवारी साधन आवत जावत प्रभावित हुने गरेका छन् ।

Back to top button