आसन्न चुनावका लागि मतदाता नामावली संकलन आजबाट

पर्वत। निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मतदाता नामावली संकलन कार्य आजबाट सुरु गर्दै छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ७७ वटै जिल्लामा आजबाट मतदाता नामावली संकलन कार्य सुरु हुने जानकारी दिए । ‘निकट भविष्यमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा हुने सम्भावना छ, त्यो निर्वाचनलाई लक्षित गरी असार १ गतेदेखि ७७ वटै निर्वाचन कार्यालय, ७७ वटै जिल्ला प्रशासन कार्यालय र ७३ इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन कार्य सुरु हुन्छ,’ प्रवक्ता पौडेलले भने ।

प्रदेश र प्रतिनिधि सभा निर्वाचन कहिले हुन्छ भन्ने टुंगो लागिसकेको छैन । यद्यपि सत्ता गठबन्धनको एक प्रमुख घटक माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बर्दियामा आयोजित एक कार्यक्रममा आगामी मंसिरमा चुनाव हुने बताएका थिए ।

स्थानीय तह निर्वाचन वैशाख ३० गते गर्ने भनेर सरकारले गत माघ २४ गते मिति घोषणा गरेपछि माघ २५ गतेदेखि मतदाता नामावली संकलन स्थगित गरिएको थियो । स्थगित भएको उक्त काम आजबाट पुनः सुरु गर्न लागिएको हो ।

Back to top button